१३ वर्षमा १६ सय ६ जनाको सफल मिर्गौला प्रत्यारोपण
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले स्थापना भएको १३ वर्षको अवधिमा हाल सम्म १६ सय ६ जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ ।

केन्द्रका कार्यकारी निर्देशक डा.कल्पनाकुमारी श्रेष्ठले केन्द्रमा हालसम्म कुल १६ सय ६ जनाको सफल मिर्गौला प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । यसैगरी हालसम्म ३६ जनाको कलेजो प्रत्यारोपण भइसकेको उहाँले जानकारी दिनुभयो ।
सीमित स्रोत साधन हुँदाहुँदै पनि केन्द्रमा हप्ताको ४ देखि ६ जना व्यक्तिमा मिर्गौला प्रत्यारोपण हुने गरेको केन्द्रले जनाएको छ । असारसम्ममा थप २०० जनाको मिर्गौला प्रत्यारोपण गर्ने लक्ष्य लिइएको प्रत्यारोपण शल्यचिकित्सक डा. दिपेस श्रेष्ठले बताउनु भयो । ६ महिनाको अवधिमा १०० जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ ।
डा.पुकारचन्द्र श्रेष्ठको अवकाशपछि केन्द्रमा पछिल्लो ६ महिना यता डा. कल्पना कुमारी श्रेष्ठले कार्यकारी निर्देशकको रुपमा संस्थाको नेतृत्व गरिरहनुभएको छ ।
प्रत्यारोपण कार्यको नेतृत्व युरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. दिपेश श्रेष्ठले सम्हाली रहनुभएको छ । उहाँकै नेतृत्वमा ३१४ जनाको ल्याप नेफ्रेक्टोमी समेत भइसकेको छ । नेपालको मानव अङ्ग प्रत्यारोपण क्षेत्रमा केन्द्रले ऐतिहासिक उपलब्धिहरू हासिल गरिरहेको डा. श्रेष्ठले बताउनुभयो ।
केन्द्रको नेतृत्वमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण, एकै दिन चार जनामा जीवित दाताबाट मिर्गौला प्रत्यारोपण, मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अङ्ग प्रत्यारोपण, एकै जना व्यक्तिमा मिर्गौला तथा कलेजो प्रत्यारोपण, तथा एकै व्यक्तिमा तेस्रो पटक मिर्गौला प्रत्यारोपण जस्ता उपलब्धिहरू केन्द्रले हासिल गरेको छ ।
यी उपलब्धी हासिल गर्न नेफ्रोलोजी विभागका डा लुसन सिंहको टिम, एनेस्थेसिया विभागका डा आरती राईको टिम, युरोलोजी विभागका डा. दिपेश श्रेष्ठको टिम, कार्डियोलोजि विभागका डा प्रवेश न्यौपानेको टिम, प्याथोलोजि विभागका डा सबिना श्रेष्ठको टिम, रेडियोलोजी विभागका डा कृष्ण बुढाथोकीको टिम, नर्सिङ विभागका सनिशा कार्कीको टिम, ट्रान्सप्लान्ट कोर्डिनेटर, प्रशासन, फार्मेसी लगायत अन्य विभागमा कार्यरत कर्मचारीहरूको अथक प्रयासबाट भएको केन्द्रले जनाएको छ ।
केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले सेवालाई मुलुकको ७ प्रदेशमा विस्तार गर्न केन्द्र अग्रसर रहेको बताउनुभयो ।
कठिन अवस्थामा पनि जीवन सम्भव छ भन्ने उद्देश्यले नेपाल सकारबाट यो केन्द्र मानव अङ्ग प्रत्यारोपणको लागि स्थापित देशको सबै भन्दा कान्छो विशिष्टीकृत संस्था भए पनि यसले देशमै सबैभन्दा धेरै करिब दुई तिहाइ प्रत्यारोपण गर्न सफल भएको समेत कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्