तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा तीन महिनामा २८६ सवारी दुर्घटना, १४ जनाको मृत्यु

रौतहट । रौतहट जिल्लामा पछिल्लो तीन महिनाको अवधिमा सवारी दुर्घटनाका कारण १४ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार सो अवधिमा कुल २ सय ८६ सवारी दुर्घटना भएको हो ।

दुर्घटनामा ४४ जना गम्भीर घाइते भएका छन् भने ४ सय ९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको तथ्याङ्कमा उल्लेख रहेको छ। ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २ सय ४१ जनालाई कारबाही गरिएको छ । त्यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न प्रकृतिका गरी कुल २ हजार २ सय सवारी चालकलाई कारबाही गरिएको छ ।

सो अवधिमा कारबाहीबाट २३ लाख १० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख तथा प्रहरी निरीक्षक राजेन्द्र थापा मगरका अनुसार माघदेखि हालसम्मको तीन महिनामा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक अनुशासन कायम गर्न नियमित रूपमा अनुगमन तथा कारबाही अभियान सञ्चालन गरिएको हो ।

उहाँले सडक सुरक्षा र सचेतनामा अझै जोड दिन आवश्यक रहेको बताउँदै चालक तथा सर्वसाधारणलाई ट्राफिक नियम पालना गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button