जुम्लामा आर्थिक गणनाको तयारी तीव्र
जुम्ला । जुम्लामा आगामी बैशाख २ गतेबाट आर्थिक गणना सुरु हुने भएको छ । हरेक पाँच वर्षमा गरिने आर्थिक गणना पहिलो पटक २०७५ मा भएको थियो । २०८० मा हुनु पर्ने दोस्रो राष्ट्रिय आर्थिक गणना विविध कारणले हुन सकेको थिएन् ।

सात वर्षपछि बैशाख २ देखि असार ७ गतेसम्म सञ्चालित हुने दोस्रो राष्ट्रिय आर्थिक गणना–२०८२ लाई तथ्य परक बनाउन जुम्लाको आर्थिक गणना कार्यालयले सक्रियता बढाएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय जुम्लाका प्रमुख दीपेन्द्रसिंह धामीले आर्थिक गणनालाई सफल बनाउन र सही तथ्याङ्क सङ्कलन गर्न सरोकारवाला सँगको समन्वय सहकार्य, प्रचार प्रसार तथा अन्य गतिविधिलाई समेत तीव्रता दिएका छन् ।
आर्थिक गणना सफल बनाउन हाल सम्म ४/५ चरणमा सरोकारवालासँग छलफल समेत गरिसकेको प्रमुख धामीले बताउनुभयो । उहाँका अनुसार मङ्गलवार आर्थिक गणना केन्द्रित सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले २०७५ को रिपोर्टले दर्ता नै नगरी ५२ प्रतिशत व्यापार व्यवसाय र प्रतिष्ठान सञ्चालन भइरहेको कुराले राज्यलाई घाटा भइरहेको बताउनुभयो ।
पहिलो आर्थिक गणना २०७५ अनुसार जुम्लामा ३ हजार ७८ वटा आर्थिक प्रतिष्ठान रहेका छन् । जसमा व्यापारतर्फ १५ सय ६९, सेवा मूलक होटल व्यवसाय १२ सय ४६ र उद्योग २६३ रहेका छन् । अधिकांश प्रतिष्ठान दर्ताबिनै चलेका छन् ।
आर्थिक प्रतिष्ठानहरूको आधारभूत विवरण सङ्कलन, प्रशोधन, विश्लेषण र प्रकाशन गर्न, आर्थिक क्षेत्रका सर्वेक्षणहरूका लागि नमूना छनौट फ्रेम निर्माण गर्न, नीति निर्माण, योजना तर्जुमा र लक्ष्य तथा प्रगतिको मापन गर्न, तथ्याङ्कीय व्यावसायिक रजिस्टर निर्माणको लागि आधार निर्माण गर्न, कुल गार्हस्थ्य उत्पादन तथा राष्ट्रिय लेखाका अनुमानको लागि तथ्याङ्क उत्पादन एकिन गर्न र औपचारिक अर्थतन्त्रका प्रमुख आर्थिक सूचक तयारी गर्ने उद्देश्यले हरेक पाँच वर्षमा आर्थिक गणना हुदैँ आएको छ ।








प्रतिक्रिया राख्नुहोस्