उदयपुरका बगैँचामा फूल फुलेका आँप, उत्पादनको आशा जाग्यो
उदयपुर। उदयपुरको भित्री मधेस क्षेत्रमा यतिबेला आँपका बोटहरू ढकमक्क फुलेका छन्।

चुरे पहाडको फेदीमा पर्ने गाउँ–बस्तीहरूमा आँपका बोटमा एकै चोटि मञ्जरी लागेपछि किसानहरू उत्साहित बनेका छन्।
जिल्लाका कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका, रौतामाई गाउँपालिका, त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाका चुरे फेदी क्षेत्रमा आँप खेती व्यापक रूपमा हुँदै आएको छ। ती क्षेत्रका बगैँचामा अहिले आँपका बोटहरू पहेँलाभएर मञ्जरीले भरिएका दृश्यले गाउँ–बस्ती नै रमाइलो देखिएका छन्।

स्थानीय किसानहरूका अनुसार अघिल्ला केही वर्षहरूमा रोग, कीरा तथा प्रतिकूल मौसमका कारण आँपमा पर्याप्त फूल लाग्न सकेको थिएन। तर यस वर्ष मौसम अनुकूल र सन्तुलित रहेकाले धेरै बोटहरूमा एकैपटक प्रशस्त मञ्जरी लागेको छ। यसले आगामी सिजनमा राम्रो उत्पादन हुने आशा जगाएको किसानहरूको भनाइ छ।
चौदण्डीगढी नगरपालिका–हडियाका किसान चन्द्रहाँस चौधरीले बारीभरि पहेँलाभएर फुलेका आँपका मञ्जरीले मन लोभ्याउने दृश्य देखिए पनि अधिकांश क्षेत्रमा आँपका फलमा किरा लाग्ने समस्या रहने भएकाले किसान चिन्तित हुने गरेको बताउनुभयो।
उता जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका सहायक बाली संरक्षण अधिकृत रामजुगन यादवका अनुसार जिल्लामा आँपमा लाग्ने प्रमुख समस्यामध्ये “आँपको कोयाको घुन (Mango Stone Weevil)” ले किसानलाई दुःख दिने गरेको छ। यसको नियन्त्रणका लागि कृषकहरूले कृषि ज्ञान केन्द्रसँग सम्पर्क गरे आवश्यक सल्लाह तथा विषादी व्यवस्थापनमा सहयोग गरिने उहाँले बताउनुभयो।
जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरकी सूचना अधिकारी तथा बागबानी विकास अधिकृत संगीता ज्ञवालीका अनुसार उदयपुरमा करिब आठ सय हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको छ। त्यसमध्ये हाल करिब ५ सय २६ हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ। पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा वार्षिक रूपमा करिब ४ हजार ५ सय ७७ मेट्रिक टन आँप उत्पादन हुने गरेको छ। अनुकूल मौसमका कारण यस वर्ष धेरै बोटमा एकैपटक फूल लागेकाले उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ।

कृषकहरूका अनुसार आँपमा राम्रोसँग फूल लागेमा फल उत्पादन पनि बढ्ने सम्भावना रहन्छ। उत्पादन वृद्धि भएमा किसानहरूको आम्दानीमा समेत उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

उदयपुरमा उत्पादन हुने प्रमुख आँपका जातहरूमा मालदह, बम्बई, कलकत्तिया, दसहरी लगायत स्थानीय जात समावेश छन्। यहाँका बगैँचाबाट उत्पादन हुने आँप फत्तेपुर, बेल्टार, गाईघाट हुँदै धरान, इटहरी र काठमाडौँका बजारसम्म पुग्ने गरेको छ।
यस वर्ष चुरे फेदीका गाउँहरूमा ढकमक्क फुलेका आँपका मञ्जरीले किसानहरूमा उत्साह मात्र बढाएको छैन, आगामी सिजनमा राम्रो उत्पादन र आम्दानी हुने आशा सम्पूर्ण स्थानीयमा पनि जगाएको छ।







प्रतिक्रिया राख्नुहोस्