तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणाधीन संसद् भवनमा प्रतिनिधिसभा बैठक बस्न अस्थायी सभाकक्ष बनाइँदै

काठमाडौँ। नव निर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ र पहिलो बैठक सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवनमा नै गर्ने तयारी भइरहेको छ ।

संसद् भवन निर्माणको सम्पूर्ण काम नसकिए पनि बैठक बस्न मिल्ने गरी सभा कक्षको निर्माण तथा व्यवस्थापनको काम अघि बढाइएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन भएर प्रत्यक्षतर्फको सम्पूर्ण मतपरिणाम आइसकेको र समानुपातिकतर्फको मतपरिणाम अन्तिम चरणमा पुगिसकेकोले निर्वाचन आयोगले समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सङ्ख्या तोकेर बन्द सूचीमा रहेका उम्मेदवारहरूबाट विजयी घोषणा गर्नेछ । त्यसपछि आयोगले राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाउनु पर्नेछ । त्यसपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नुहुनेछ । 

सङ्घीय संसद् भवन रहेको नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भदौ २३ को प्रदर्शन र २४ को आन्दोलनका क्रममा आगजनीपछि पूर्ण रूपमा क्षतिग्रस्त भएकोले अहिले त्यहाँ संसद्को बैठक बस्न नसक्ने अवस्था छ ।

२०७६ सालबाट नै तीन वर्षमा निर्माण गरिसक्ने गरी सरकारले सिंहदरबारभित्र नयाँ संसद् भवन निर्माण सुरु गरेको थियो तर हालसम्म पनि निर्माण कार्य सम्पन्न हुन नसक्दा संसद् बैठक बस्ने स्थानको समस्या देखिएको छ । 

संसद् भवन निर्माणको सम्पूर्ण काम नसकिए पनि बैठक बस्न मिल्ने गरी सभाकक्षको आवश्यक निर्माण तथा व्यवस्थापनका काम अघि बढाइएको र अव छिट्टै न्यूनतम पूर्वाधारसहित बैठक सञ्चालन गर्न आवश्यक केही सभाकक्ष र संरचना तयार हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

निर्माणाधीन संसद् भवनभित्र रहेको बहुउद्देश्यीय ‘मल्टिपर्पोज’ हल निर्माणको अन्तिम चरणमा रहेको र त्यही हललाई नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको शपथग्रहणका लागि व्यवस्थापन गर्ने तयारी भइरहेको बताउनुहुन्छ सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरी ।

सिंहदरबारभित्र संसद् भवन निर्माण काम अन्तिम चरणमा पुगे पनि प्रतिनिधिसभाको मुख्य हल प्राविधिक कारणले तत्काल सञ्चालन गर्न नसकिने भएपछि सोही भवनभित्रको वैकल्पिक हलबाट बैठक सञ्चालन गर्ने तयारी गरिएको प्रवक्ता गिरीले बताउनुभयो ।

संसद् बस्नका लागि संसदीय दलको कार्यालय, संसद् सचिवालयका लागि बैठक राख्न आवश्यक पूर्वाधार, कार्य व्यवस्था परामर्श समितिको बैठक हल, बैठकको प्रत्यक्ष प्रसारणका लागि अडियो–भिडियो सिस्टम, सभामुख, उपसभामुख र काुननमन्त्री लगायतका लागि बस्ने कक्ष लगायत धेरै कुराको व्यवस्थापन गर्नुपर्ने हुन्छ । 

प्रतिनिधि सभाको शपथ र प्रारम्भिक बैठकका लागि तयार भइरहेको हलमा करिब २ सय ८० जना मात्रै अट्ने र सम्पूर्ण व्यवस्थापन गर्न त्यति सम्भव नभए पनि न्यूनतम सुविधा सहित बैठक बस्न सक्ने गरी व्यवस्थापन भइरहेको पनि प्रवक्ता गिरीले बताउनुभयो ।

१५१ रोपनी जग्गामा सङ्घीय संसद्का १२ वटा विभिन्न भवन निर्माण भइरहेका छन् । कुल जग्गाको २७ प्रतिशत भागमा भौतिक संरचना, २० प्रतिशत भागमा बाटो र ४३ प्रतिशत भागमा बगैँचा निर्माण हुँदै छ ।

भवन निर्माण चाँडै सकिने भनिए पनि पूर्णरुपमा कहिलेसम्म सम्पन्न हुन्छ भन्ने अझै यकिन हुन नसक्दा  न्यूनतम पूर्वाधारमा नै प्रतिनिधिसभाको बैठक बस्नुपर्ने अवस्था छ । 

निर्माणाधीन संसद् भवनमा प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, सेन्ट्रल लबी, अति विशिष्ट व्यक्तिहरूको लागि कार्यालय, पुस्तकालय, सङ्ग्रहालय, संसदीय दलको कार्यालय, संसदीय समितिहरूको कार्यालय, चमेना गृह, प्रेस÷छपाइ लगायतका भवन निर्माण हुँदै छन् । यस्तै ४ सय ५० वटा चार पाङ्ग्रे र ८ सय वटा दुईपाँग्रे सवारी साधन अटाउने पार्किङ स्थल र सुरक्षाकर्मीका लागि पनि भवन निर्माण भइरहेको छ ।

तस्वीर: मिलन ढुङ्गाना

प्रतिक्रिया राख्नुहोस्

Back to top button