तपाईँ सुन्दै हुनुहुन्छः

रौतहटमा आज रातिदेखि नै मतगणना सुरु गर्न तयारी

रौतहट । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत रौतहटका चार वटै निर्वाचन क्षेत्रमा मतदान कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार बिहीबार बिहान ७ः०० बजेदेखि सुरु भएको मतदान प्रक्रिया साँझ ५ः०० बजे सम्पन्न भएको हो। 

निर्वाचन सम्पन्न भएसँगै जिल्लाका चार वटै क्षेत्रमा आजै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार मतदान सम्पन्न भएपछि मतपेटिका सङ्कलन तथा आवश्यक व्यवस्थापनको काम भइरहेको छ । उक्त प्रक्रिया सकिए लगत्तै मतगणना सुरु गरिने उहाँले बताउनुभयो ।

निर्वाचन अधिकृतको कार्यालयले चार वटा मतगणना स्थल तोकेको छ । रौतहट निर्वाचन क्षेत्र नं.१ को मतगणना गौरस्थित जुद्ध माध्यमिक विद्यालयमा, क्षेत्र नं. २ को ब्रम्हज्योति माध्यमिक विद्यालय लौकाहामा, क्षेत्र नं. ३ को जनता माध्यमिक विद्यालय कटहरियामा र क्षेत्र नं.४ को जनज्योति उच्च माध्यमिक विद्यालय चन्द्रनिगाहपुरमा गरिने व्यवस्था गरिएको छ ।

हाल जिल्लाभरका मतदान केन्द्रबाट मतपेटिका तोकिएका मतगणना स्थलमा ल्याउने क्रम जारी रहेको प्रशासनले जनाएको छ । मतगणना स्थलको सुरक्षा व्यवस्थालाई कडा बनाइएको पनि जनाइएको छ।

रौतहट जिल्लाका चार वटा निर्वाचन क्षेत्रमा फैलिएका १५७ वडामा २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र तोकिएका थिए। जिल्ला प्रशासन कार्यालयका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ।

जिल्लामा कुल ४ लाख ३६ हजार ६ सय ११ मतदाता रहेकोमा प्रारम्भिक अनुमान अनुसार करिब ५८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button