उदयपुरमा १०२ वर्षिया वृद्धद्वारा मतदान, सुशासन र भ्रष्टाचार अन्त्यको अपेक्षा
उदयपुर। उदयपुरमा १०२ वर्षका वृद्धले पनि मतदान गर्नुभएको छ।

उदयपुरगढी गाउँपालिका–६ जगरेटारका १०२ वर्षीय अमृतबहादुर कार्कीले नेपालटार माध्यमिक विद्यालयस्थित मतदान केन्द्र (क) बाट मतदान गर्नुभएको हो।
उमेर ढल्किए पनि देशमा सुशासन स्थापना होस्, भ्रष्टाचारको अन्त्य होस् र विकास होस् भन्ने अपेक्षासहित आफूले मतदान गरेको कार्कीले बताउनुभयो।
उदयपुरमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको छ। जिल्लाका सबै मतदान केन्द्रबाट तोकिएकै समयमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत मुकेशकुमार उपाध्यायले जानकारी दिनुभयो। बिहानैदेखि मतदाताहरू मतदान केन्द्रमा लाइनमा बसेर मतदाता परिचयपत्र वा पहिचान खुल्ने अन्य कागजात देखाउँदै मतदानमा सहभागी भइरहेका छन्।
मतदान केन्द्रहरूमा अशक्त, ज्येष्ठ नागरिक र गर्भवती महिलाका लागि पालो पर्खनु नपर्ने गरी छुट्टै लाइनको व्यवस्था गरिएको छ। पुरुष र महिलाका लागि पनि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने प्रवेश र बाहिरिने द्वार फरक–फरक बनाइएको छ।
दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा दुई स्वतन्त्रसहित ३१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। उनीहरूले पनि आफ्नो मतदाता नामावली रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन्।
निर्वाचनलाई सुरक्षित बनाउन कडा सुरक्षा व्यवस्था मिलाइएको छ। तीन तहको सुरक्षा घेरामा मतदान भइरहेको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनाले सुरक्षा दिइरहेको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विक्रमप्रसाद पाण्डेयले जानकारी दिनुभयो।
मतदाताले बिना त्रास मतदान केन्द्रसम्म पुगेर मतदान गर्न सक्ने वातावरण बनाइएको उहाँले बताउनुभयो। मतदान स्थल बाहिर पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गस्ती गर्दै कुनै अप्रिय घटना हुन नदिन निगरानी बढाएको छ।
निर्वाचन भइरहँदा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समिति, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र निर्वाचन अधिकारीको टोलीले पनि अनुगमन गरिरहेको छ। साथै विभिन्न संघ–संस्थाका पर्यवेक्षकहरूले पनि निष्पक्ष निर्वाचनका लागि अनुगमन गरिरहेका छन्।
त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका समेटिएको उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा १ लाख ४२ हजार ८०४ मतदाता रहेका छन्। यस क्षेत्रमा ५२ मतदान स्थलमा १६० मतदान केन्द्र रहेका छन् भने ३५ वटा वडा समेटिएका छन्।
त्यसैगरी कटारी नगरपालिका तथा रौतामाई, उदयपुरगढी, लिम्चुङबुङ र ताप्ली गाउँपालिका समेटिएको निर्वाचन क्षेत्र नम्बर २ मा ९६ हजार १३१ मतदाता रहेका छन्। यस क्षेत्रमा ५१ मतदान स्थलमा ११५ मतदान केन्द्र रहेका छन् भने ४० वटा वडा समेटिएका छन्।







प्रतिक्रिया राख्नुहोस्