तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन प्रचारप्रसार निषेध अवधि आज राति १२ बजेदेखि सुरु हुँदै

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार निषेध अवधि आज राती १२ बजेदेखि सुरु हुँदै छ । 

मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान सम्पन्न भई मतदान केन्द्र बन्द नहुन्जेलसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि अर्थात् मौन अवधि तोकिएको निर्वाचन आयोगले जनाएको छ । 

मौन अवधिमा उम्मेदवार, राजनीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने विशेष आचरणहरू निर्वाचन आचारसंहितामा व्यवस्था गरिएको आयोगले जनाएको छ ।

मतदाताले आफ्नो विवेकको निर्णय आफ्नै अन्तरआत्माले स्वतन्त्रतापूर्वक गर्ने अवसरको निम्ति शान्ति वा मौन अवधि अनिवार्य हुने र यसले स्वच्छ प्रतिस्पर्धालाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने आयोगको विश्वास छ ।

मौन अवधिमा कुनै सार्वजनिक प्रचारप्रसार, राजनीतिक विज्ञापन, सामाजिक सञ्जालमा प्रचार, कुनै किसिमको सन्देश सम्प्रेषण लगायत निर्वाचन प्रचारसँग सम्बन्धित कार्य गर्न निषेध गरिएको छ ।

मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्नेछ।

त्यस्तै सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउन निषेध गरिएको छ ।

मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य गर्न नहुने पनि आचार संहितामा उल्लेख छ ।

आचारसंहिताको इमान्दारीपूर्वक पालना र कार्यान्वयनले सजग मतदाता तयार पार्न र निर्वाचनको निष्ठा प्रवर्द्धन गर्न सहयोग पुग्ने आयोगको विश्वास छ ।

संविधानले प्रदान गरेको अधिकार अनुसार निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन, नियन्त्रण, समन्वय तथा सम्पूर्ण व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको आयोगले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button