मुगुको सोरुमा अज्ञात रोग फैलिँदा २ सयभन्दा बढी भेडा–बाख्रा मरे
'व्यवसाय सङ्कट पर्दा किसान चिन्तत'
जुम्ला। मुगुको सोरु क्षेत्रमा अज्ञात रोगले २ सय बढी भेडा बाख्रा मरेका छन् । सोरु गाउँपालिका वडा नं १० र ११ मा पर्ने दई,कोटवाडा, धैन, लोली, तलिवडा, हितवाडा, रोकयावाडा र कोट गाउँ लगायतका क्षेत्रमा पछिल्लो एक महिनादेखि फैलिएको अज्ञात रोगले किसानका २ सयबढी भेडा बाख्रा मरेका हुन् ।
सोरु क्षेत्र भेडा पालनमा आत्मनिर्भर क्षेत्र हो । त्यसमध्ये पनि सोरु वडा न-१० र ११ नम्बर वडाका दर्जन बढी गाउँ भेडा तथा बाख्रा पालनमै निर्भर छन् । विगत एक महिनादेखि फैलिएको अज्ञात रोगले २ वटा वडाका २ सय बढी भेडाबाख्रा मरेपछि किसान चिन्तामा छन् ।

भेडाबाख्रा पालनबाट घरखर्च, नुन तेल देखि जीविकोपार्जन गर्दै आएका सोरु क्षेत्रका भेडापालक किसानको आम्दानीको स्रोत नै खोसिएको छ ।
स्थानीय युवा तथा नेपाल किसान महासङ्घ कर्णाली प्रदेशका उपाध्यक्ष रत्नलाल देवकोटाका सोरु गाउँपालिका वडा नं १० र ११ मा मात्रै १५ सय देखि २ हजार सम्म भेडा बाख्राको सङ्ख्या छ ।
पछिल्ला केही दिन यता दैनिक रूपमा १०र१२ का दरले भेडा र बाख्रा मर्न थालेपछि किसान चिन्तामा परेका छन् ।
भने गाउनै त्रासमा छ । सङ्क्रमित पशुमा फोक्सोमा पिप जम्ने, शरीर भरि पानीका फोका देखिने, कपाल सुन्निने, दिसा गन्हाउने, दुब्लाउँदै जाने, खोकी लाग्ने, पातलो दिसा गर्ने, काप्ने, झोक्राउने तथा लुतो लाग्ने जस्ता लक्षण देखिने र केही क्षणमा मर्ने गरेका छन्।
स्थानीय भेडा गोठाला रतन मल्लले आफूसँग रहेका ८० भेडामध्ये यस्तै लक्षण देखिए पछि १० वटा भेडा मरेको बताउनुभयो ।भेडा पालनबाटै परिवार पाल्दै आए पनि अहिले एकाएक भेडा मर्न थालेपछि चिन्ता बढेको उहाँको भनाई छ ।
अर्का गोठाला पुन्न मल्लका ६० भेडामध्ये ९ वटा भेडा रोगका कारण मरेका छन्। त्यस्तै, बाख्रा गोठाला काईचन्द्र देवकोटाले आफूसँग रहेका १५० बाख्रामध्ये २० वटा बाख्रा मरेको जानकारी दिनभयो।
यसैगरी स्थानीय प्रदीप प्याकुरेलका ४५ मध्ये १० वटा, परेकलाल जैसीका ५० मध्ये ६ वटा र कबे जैसीका ४० मध्ये ७ वटा बाख्रा मरेका छन्। यसरीनै सोरु वडा नं १० र ११ का किसानका २ सयबढी भेडा मरेका हुन् ।
क्रमिक रुपमा भेडा बाख्रा मर्ने क्रम बढ्दै जाँदा व्यवसायनै खोसिएपछि किसान मारमा परेका छन् । लाखौँ रुपैयाँ घाटा व्यहोरेका किसानहरू आर्थिक अवस्था थप सङ्कटमा निम्तिएको बताउँछन्।
दिनरात मेहनत गरेर भेडा बाख्रा पालन बाटै दैनिक जीविकोपार्जन गर्दै आएका किसानहरू परिवार कसरी पाल्ने र छोराछोरीको पढाइ कसरी निरन्तरता दिने भन्ने चिन्ताले सताएको किसान प्रदीप प्याकुरेलले बताउनुभयो।
समयमै जानकारी नहुँदा भएन उद्धार
मुगुको दुर्गम सोरु क्षेत्रमा फैलिएको अज्ञात रोगबारे जिल्लामा जानकारी नहुँदा उद्धार हुन सकेन । जसका कारण किसानका लाखौ मूल्यका २ सयबढी भेडा बाख्रा मरेका छन्।
स्थानीय भेडा पालक किसान देवीभक्त प्याकुरेल भन्छन्, “गाउँभरिका भेडा मरेपछि किसान पिडादायक अवस्थाबाट गुज्रिरहेका छन् । कुन रोग लाग्यो रु कसरी मरे, कसरी नियन्त्रणमा ल्याउने भन्ने बारे किसान अनविज्ञ छन् ।कहाँ जानु, के गर्नु, कसलाई भन्नु, नजिकै कुनै पनि पशु स्वास्थ्य कार्यालय छैन, सदरमुकाममा पुग्न १ दिन लाग्छ, अहिले सम्म कुनै जाँच गरेको छैन । दिनदिनै बाख्रा मरेर नाश भइरहेका छन् ।”
सदरमुकाम गमगडी पुग्न एकदिन लाग्ने सोरु क्षेत्रमा फैलिएको अज्ञात रोगबारे अझै सरोकारवालाई तताएको छैन । किसान आम्दानी खोसिएपछि मर्कामा छन्। व्यवसाय उत्थानका लागि सहयोग गर्न अनुरोध गरेका छन् ।
यति ठुलो क्षति हुँदा समेत सोरु गाउँपालिकाको पशु स्वास्थ्य शाखा र जिल्ला पशु सेवा कार्यालय मुगुले घटनाबारे समयमै चासो नदिएको भन्दै किसानले असन्तुष्टि व्यक्त गरेका छन्। यद्यपि पालिका र जिल्लाले भने समयमै जानकारी नपाएको बताएको छ ।
जिल्ला र पालिकाले तत्काल पशु चिकित्सक सहितको प्राविधिक टोली परिचालन गरी रोगको पहिचान, नियन्त्रण तथा पीडित किसानलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायसँग सोरुका किसानले माग गरेका छन्।








प्रतिक्रिया राख्नुहोस्