धनकुटामा कुल १ लाख १८ हजार ४२५ मतदाता, ११९ मददानस्थलमा १६६ मतदान केन्द्र कायम
धनकुटा । आगामी फागुन २१ गतेको हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वी पहाडी जिल्ला धनकुटामा कुल १ लाख १८ हजार ४ सय २५ जना मतदाता कायम भएका छन्। अघिल्लो निर्वाचनको तुलनामा धनकुटामा अहिले मतदाताको सङ्ख्यामा वृद्धि भएको छ। अघिल्लो निर्वाचनसम्म धनकुटामा एक लाख १६ हजार ९ सय ९१ जना मतदाता रहेकोमा एक हजार ४ सय ३४ जना मतदाता थपिएका हुन्। जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन गर्दा ३ हजार २ सय ७२ जनाले नाम दर्ता गराएको भएपनि एक हजार ४ सय ३४ जना मतदाता मात्रै थप भएका हुन्। मतदाता नामावली सङ्कलनका क्रममा जिल्ला निर्वाचन कार्यालयमा आएर १ हजार २ सय ८६ जनाले र राष्ट्रिय परिचय पत्रबाट १ हजार ९ सय ८६ जनाले नाम दर्ता गराएका थिए।

जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी सुरज श्रेष्ठले निर्वाचन आयोगले गरेको मतदाता अद्यावधिकसँगै धनकुटाको कुल मतदाता एक लाख १८ हजार ४ सय २५ जना कायम भएको जानकारी दिनुभयो। जस अनुसार पुरुषको सङ्ख्या ५९ हजार ४ सय ८३ जना र महिलाको सङ्ख्या ५८ हजार ९ सय ४२ मतदाता कायम भएको श्रेष्ठले जानकारी दिनुभयो।
तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटा जिल्लामा स्थानीय तह अनुसारका मतदाता पनि सार्वजनिक भएका छन्। स्थानीय तह अनुसार धनकुटा नगरपालिकामा २४ हजार २ सय ९८ जना, महालक्ष्मी नगरपालिकामा १८ हजार ४ सय ४७ जना र पाख्रिबास नगरपालिकामा १७ हजार ७ सय १ जना मतदाता कायम भएका छन्। यस्तै साँगुरीगढी गाउँपालिकामा १६ हजार ७ सय २ जना, चौबिसे गाउँपालिकामा १४ हजार २६ जना, छथर जोरपाटी गाउँपालिकामा १३ हजार ६ सय ८७ जना र सहिदभूमि गाउँपालिकामा १३ हजार ५ सय ६४ जना मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो ।

यस्तै धनकुटामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि १ सय १९ मतदान स्थल र १ सय ६६ मतदान केन्द्र कायम भएका छन्। धनकुटामा अघिल्लो निर्वाचनमा १ सय १९ मतदान स्थल र १ सय ६२ मतदान केन्द्र रहेका थिए। धनकुटाको धनकुटा नगरपालिकामा १५ मतदान स्थलमा २९ मतदान केन्द्र, महालक्ष्मी नगरपालिकामा २१ मतदान स्थलमा २७ मतदान केन्द्र र पाख्रिबास नगरपालिकामा १५ मतदान स्थलमा २३ मतदान केन्द्र कायम भएका छन्। यस्तै साँगुरीगढी गाउँपालिकामा २१ मतदान स्थलमा २६ मतदान केन्द्र, चौबिसे गाउँपालिकामा २१ मतदान स्थलमा २४ मतदान केन्द्र, छथर जोरपाटी गाउँपालिकामा १२ मतदान स्थलमा १८ मतदान केन्द्र र सहिदभूमि गाउँपालिकामा १४ मतदान स्थलमा १९ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक वटा निर्वाचन क्षेत्र रहेको धनकुटामा जिल्ला निर्वाचन कार्यालयले पनि आवश्यक तयारीहरू गरिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्