राजनीतिक दल निर्वाचनमा जान प्रतिबद्ध छन्, सरकार चुनाव गर्न तयार छ: मन्त्री खरेल

काठमाडौँ । सरकारका मन्त्रीहरूले मुलुकका प्रमुख राजनीतिक दलको कार्यालयमा पुगेर संवाद गरी उहाँहरूबाट उठाइएका विषय सरकारसमक्ष पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
गत भदौमा भएको जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त राजनीतिक दलका कार्यालय अवलोकन गर्ने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले प्रमुख दलका मागका विषयमा सरकार गम्भीर रहेको बताउनुभयो ।
उहाँहरू सानेपास्थित नेपाली काँग्रेस, ललितपुरको च्यासलमा रहेको नेकपा(एमाले) र पेरिसडाँडास्थित नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगी त्यहाँ भएको क्षतिको विवरण लिनुका साथै दलका प्रतिनिधिसँग छलफल गर्नुभयो ।
नेकपा कार्यालय पेरिसडाँडामा भएको छलफलपछि मन्त्री सिन्हाले आन्दोलनका क्रममा भागेका अधिकांश कैदीबन्दी पक्राउ र लुटिएका धेरै हतियार बरामद भएकाले सङ्गठितरूपमा अपराध हुन सक्ने कुनै सम्भावना नरहेको तथा निर्वाचनको वातावरण बन्दै गएको विश्वास दिलाउनुभयो ।
उहाँले राजनीतिक संवादमार्फत निर्वाचनमा जानुको विकल्प नरहेको जनाउँदै लोकतन्त्र पुनःस्थापित गरी संविधानको मर्म र भावना प्रतिनिधिसभाको निर्वाचन गरी अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मन्त्री सिन्हाले भन्नुभयो, “आन्दोलनका क्रममा दलका भौतिक संरचना के कति क्षति भए, कसरी पुनर्निर्माण भएको भइरहेको छ त्यो हेर्न आएका हौँ । दलका पदाधिकारीसँगको छलफलमा निर्वाचन सुरक्षाबारे विभिन्न प्रश्न उठेका छन् । तर चुनावको विकल्प छैन भन्नेमा विवाद छैन ।”
छलफलका क्रममा केही सुरक्षा र केही नेताहरूसँगको विषयको प्रश्न उठेको बताउँदै उहाँले प्रमुख दलहरूको सम्पर्क तल्लो तहसम्म भएकाले एक पटक चुनावी नारा तलसम्म पुर्याएर चुनावी वातावरण बनाउन अनुरोध गरिएको जानकारी दिनुभयो ।
सरकारले मन्त्री सिन्हाको संयोजकत्वमा गठित राजनीतिक वार्ता समितिले निर्वाचन आयोगको तयारी सम्बन्धमा मुख्य दलकै कार्यालयमा गएर छलफल निर्णयअनुरूप उहाँहरू त्यहाँ जानुभएको हो ।

मन्त्री सिन्हाले भन्नुभयो, “भदौ २३ र २४ को घटना दुर्भाग्यपूर्ण छ, यो अवस्था आउनुमा धेरै आयाम छन् । धेरै जनधनको क्षति भयो, यो अस्वाभाविक छ । संविधानभन्दा बाहिर गएर काम गर्न सक्दैनौँ । चुनावमा जाऔँ ।”
सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री खरेलले सरकार इमान्दारीकासाथ निर्वाचन गराउन खोजिरहेको छ भन्ने स्पष्ट सन्देश प्रवाह गर्न आफूहरू राजनीतिक दलका कार्यालयमा पुगेर संवाद गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनका लागि यो राजनीतिक दललाई सकारात्मक दबाब हो, हामी चुनाव चाहन्छौँ, चुनावको तयारी यो गरेका छौँ भन्ने स्पष्ट सन्देश हो ।”
निर्वाचनमा भाग लिनुहोस् भनेर सरकार राजनीतिक दलको कार्यालयमा पुगेको यो नै पहिलो पटक भएको बताउँदै सञ्चार मन्त्री खरेलले यसबाट सरकार निर्वाचन गराउन कति प्रतिबद्ध छ भन्ने स्पष्ट सन्देश हो भन्नुभयो । नेकपाको कार्यालय अवलोकनका क्रममा सो पार्टीका संयोजकले पदाधिकारीका तर्फबाट स्पष्ट कुरा आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संसद् पुनः स्थापना गर्न हुँदैन, अब चुनावमै जानुपर्छ भन्नुभएको छ ।” जेन्जीले उठाएका माग सम्बोधन भएन भने थप जटिलता हुनेतर्फ आफूहरूलाई भनेको उल्लेख गर्दै उहाँले नेकपाले स्पष्ट रूपमा निर्वाचनमा जानुपर्ने धारणा राखेको जानकारी दिनुभयो ।
मन्त्री खरेलले सरकार, राजनीतिक दल र जनता निर्वाचनको बाटोमा होमिनुपर्छ भन्नेमा सबै राजनीतिक दल निर्वाचनमा जानेमा सबै स्पष्ट रहेको आफूहरूले पाएको स्पष्ट पार्नुभयो । उहाँले राजनीतिक दलका नेताहरूलाई सरकार निर्वाचन गराउन प्रतिबद्ध रहेको विश्वास दिलाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्वाचनको वातावरण बनाउँछ, अब निर्धारित मितिमा चुनाव हुन्छ ।”
अनुगमनका क्रममा भोलि बुधवार उक्त टोली जनमत, राप्रपा र रास्वपाको कार्यालय जाने बताइएको छ । रासस








प्रतिक्रिया राख्नुहोस्