तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीका महिला व्यावसायिक रूपमा बेसार खेतीतर्फ आकर्षित

बैतडी। बाँदरको बढ्दो आतङ्कका कारण बैतडीका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित भएका छन्।

अन्य खाद्य बालीमा बाँदरले नोक्सानी पुर्‍याउन थालेपछि यहाँका किसानहरूले व्यावसायिक रूपमा बेसार खेती सुरु गर्नुभएको हो । 

जिल्लाको पाटन नगरपालिका, सिगास र सुर्नया गाउँपालिकाका महिला उद्यमी समूहमा आबद्ध ४४ जना महिलाहरूले बेसार खेती गरिरहेका छन् । 

खाद्य बालीमा बाँदरले क्षति पुर्‍याउन थालेपछि बेसार खेती गरिरहेको पाटन नगरपालिका–६ कि कलसा लुहारले बताउनुभयो।

“बाँदरले अन्य बालीहरूमा क्षति पुर्‍याउन थाल्यो । बाँझो जमिनको सदुपयोग गर्दै व्यावसायिक रूपमा अघि बढ्ने हिसाबले बेसार खेती गरिरहेका छौँ।”, उहाँले भन्नुभयो ।

घरका लागि मात्रै बेसार उत्पादन गर्दै आएकोमा अहिले व्यवसायीक रूपमा खेती गर्न लागेको सुर्नया गाउँपालिका–६ का पवित्रा शाहले बताउनुभयो । दातृ निकायका सहयोगमा सारथी नेपालले ‘दिगो आम्दानी मार्फत महिला उद्यमीहरूको सशक्तीकरण’परियोजना अन्तर्गत बीउ र प्राविधिक सहयोग गरेपछि बेसार सङ्गै र लसुन खेती गरिरहेको उहाँले बताउनुभयो । 

परियोजना मार्फत महिला उद्यमी समूहमा आबद्ध महिला किसानहरूलाई बीउ र प्राविधिक सहयोग गर्दै आएको परियोजनाका फिल्ड सुपरभाइजर दिपेश धामीले जानकारी दिनुभयो । 

बाँझो जमिनको सदुपयोग गरी महिलाहरूलाई व्यवसायसँग जोडेर आत्मनिर्भर बनाउन सारथी नेपालले बीउ विजन र अन्य सहयोग गर्दै आएको कार्यक्रम संयोजक भुपाल बोहराले जानकारी दिनुभयो । 

परियोजना अन्तर्गत महिला कृषकहरूले बेसारसँगै अदुवा, ५२ जनाले लसुन र ३४ जना महिला कृषकले टनेलभित्र गोलभेँडा खेती पनि गरिरहेको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button