तपाईँ सुन्दै हुनुहुन्छः

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता प्रक्रिया अन्तिम चरणमा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जारी ११औँ राष्ट्रिय महाधिवेशनका सिलसिलामा विभिन्न पदका आकाङ्क्षीहरूले  उम्मेदवारी दर्ता गराउने क्रम अन्तिम चरणमा पुगेको छ ।    

भृकुटीमण्डपस्थित मिडिया सेन्टरमा आयोजित पत्रकार सम्मेलनमा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले इच्छुक उम्मेदवारहरू फाराम भरी दर्ता गर्न नेताहरू व्यस्त रहेको जानकारी दिँदै आज अपराह्न ३ः३० बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्ने व्यवस्था रहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन कार्यतालिका अनुसार आज बिहान ९ः३० बजेदेखि उम्मेदवारको फारम वितरण तथा दर्ता प्रक्रिया सुरु भएपछि संशोधनसहित आज दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारी दर्ता गराउने समय थप गरिएको छ ।  

“उम्मेदवार दर्ता अत्यन्त उत्साहजनक ढङ्गबाट लोकतान्त्रिक विधि र प्रक्रिया अनुसार भइरहेको छ । साथीहरू उत्साहित भएर निर्वाचनमा भाग लिन चाहिरहनुभएको छ ।” उहाँले भन्नुभयो ।

नेता गौतमका अनुसार अध्यक्ष पदको उम्मेदवारी शुल्क रु १५ हजार, उपाध्यक्षदेखि सचिवसम्मका पदाधिकारीको रु १० हजार र केन्द्रीय सदस्यका लागि रु पाँच हजार शुल्क तोकिएको छ । उम्मेदवारी फारम शुल्क भने रु १०० तोकिएको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार नै भोलि मङ्गलवार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने नेता गौतमले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button