अवैध घुसपैठ रोक्न सिमानाकामा कडा निगरानी
वीरगञ्ज । भारतमा अवैध रुपमा बसोबास गर्दै गर्दै आएका बङ्गलादेशी रोहिंग्या समुदायका मानिसहरू नेपालमा गैरकानुनी रुपमा प्रवेश गरिरहेको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले आज एक सूचना जारी गर्दै वीरगन्जसहित जिल्लाका सबै सीमा नाकाहरूमा सुरक्षाकर्मीको चेकजाँच र निगरानी बढाइएको जनाएको छ ।

विभिन्न सञ्चार माध्यम एवं तथा कार्यालयमा प्राप्त ध्यानाकर्षण एवं ज्ञापनपत्र पत्रानुसार हाल सीमावर्ती नाकाबाट परिचय नखुलेका शङ्कास्पद व्यक्तिहरू अवैध ढङ्गबाट पर्सा जिल्लामा प्रवेश गर्न सक्ने हुँदा सीमावर्ती क्षेत्रमा सुरक्षा निकायबाट चेकजाँचमा कडाइ गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जारी गरिएको सूचनामा उल्लेख छ ।
कोही पनि शङ्कास्पद व्यक्ति जिल्लाभित्र प्रवेश गरेको अवस्थामा त्यस्ता व्यक्तिको सम्बन्धमा नजिकको सुरक्षा निकायहरूमा जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ । साथै त्यस्ता परिचय नखुलेका अपरिचित व्यक्ति, समुदायलाई घरमा बसोबास गर्न नदिन, कुनै कामकाजमा नलगाउनु हुन समेत जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सर्वसाधारणमा अनुरोध गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।
यसअघि गत मङ्सिर १४ गते पर्साका जेनजी युवाहरूको एक समूह र हिन्दु सम्राट सेना नेपालले जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर भारतबाट लखेटिएका बङ्गलादेशी रोहिंग्याहरु विभिन्न नाका हुदैं नेपाल प्रवेश गर्न थालेको भन्दै नेपाल–भारत सीमा नाकामा कडाइ गर्न माग गरी ज्ञापनपत्र बुझाएका थिए । नेपाल–भारतबीचको खुल्ला सीमाको दुरुपयोग गद भारतबाट अवैध व्यक्तिहरूको घुसपैठ, मानव तस्करी र सङ्गठित आपराधिक गतविधीहरु बढेकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने माग उनीहरूको थियो ।








प्रतिक्रिया राख्नुहोस्