तपाईँ सुन्दै हुनुहुन्छः

विवाह पञ्चमी अन्तर्गत मटकोर विधि सम्पन्न 

जनकपुरधाम । श्रीसीताराम विवाह पञ्चमी महामहोत्सवको अवसरमा आज जनकपुरधाममा मटकोर विधि सम्पन्न भएको छ ।

माता सीताको मानव स्वरूपलाई रथमा विराजमान गरेर बाजागाजासहित जनकपुरधामकै ऐतिहासिक गंगासागरमा मटकोर विधि सम्पन्न भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको विशेष ब्यान्ड सहित मटकोरका लागि गंगासागरमा पुगेका थिए ।

गंगासागरमा माता सीताको मानव स्वरूपले उत्खनन् गरेको माटो जानकी मन्दिरमा निर्माण हुने विवाह मण्डपको वेदीमा प्रयोग गरिने प्रचलन रहेको छ । मटकोर विधिको समन्वय जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले गर्नुभएको थियो ।

मटकोर विधिमा मिथिलाका मिथिलानीहरुले विभिन्न प्रकारको सांस्कृतिक तथा परम्परागत गीतहरू गाउनुभएको थियो । मटकोर विधि हेर्नका लागि गंगासागर क्षेत्रमा हजारौँ भक्तजनहरू सहभागी रहनुभएको थियो । मटकोर विधिसँगै गंगासागरमा विशेष आरती कार्यक्रम पनि भएको छ । सेभ हिस्टोरिकलको आयोजनामा प्रत्येक दिन गंगाआरती हुने गरेको छ ।

गंगासागरमा भएको भिडलाई ध्यानमा राखेर सुरक्षा निकायले सो ठाउँमा सुरक्षा सतर्कता बढाएका थिए भने गंगासागरमा वोटिङ्ग गरेका थिए । यता विवाह पञ्चमी महोत्सवमा सहभागी हुनका लागि १० लाख तीर्थयात्रीहरू जनकपुरधाम आइसकेका कारणले जनकपुर मानव सागरले भरिभराउ भएको छ ।

यसै बीच विवाह पञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले मङ्गलवार मधेश प्रदेशभरि सार्वजनिक बिदा दिएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button