तपाईँ सुन्दै हुनुहुन्छः

सोलु हाइड्रो आईपीओविरुद्ध नेचासल्यानबासी, काठमाडौँमा बन्यो सङ्घर्ष समिति

सोलुखुम्बु । ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत आयोजनाले सार्वजनिक गरेको शेयर निष्कासनप्रति नेचासल्यान गाउँपालिकाका स्थानीयले व्यापक विरोध गरेका छन् ।

नेचासल्यानलाई आयोजना प्रभावित र अति प्रभावित क्षेत्रमा समावेश नगरेको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै नेचासल्यानबासीले विरोध गरेका हुन् ।

पालिकावासीको असन्तुष्टिलाई ध्यानमा राख्दै नेचासल्यान गाउँपालिकाले विज्ञप्तिमार्फत आयोजना सञ्चालनका क्रममा खाल्पा, सल्यान, सहेले, चुर्पुघाट हुँदै तुइनटार क्षेत्रमा बहने सोलु खोलालाई वडा नं. २ भन्दा माथिको भू–भागबाट पथान्तर गरी बाहिर लगिएका कारण यस क्षेत्रका जलचर, वनस्पति तथा स्थानीय बासिन्दाको जीवनयापनमा प्रत्यक्ष असर पारेको उल्लेख गरेको छ ।

यसअघि अपर सोलु र मिड सोलु जलविद्युत आयोजना सञ्चालनकर्ताले नेचासल्यान गाउँपालिकालाई प्रभावित क्षेत्रका रूपमा पहिचान गरिसकेको तथ्य प्रस्तुत गर्दै गाउँपालिकाले हालको सूचनालाई अन्यायपूर्ण भएकाले तत्काल सच्याई नेचासल्यानका बासिन्दालाई अति प्रभावित क्षेत्रमा समावेश गर्न माग गरेको छ । 

माग सम्बोधन नभए राजनीतिक दल, नागरिक समाज तथा स्थानीय सरोकारवालाको सहभागितासहित दबाबमूलक कार्यक्रम सुरु गर्ने चेतावनी पनि ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको गाउँपालिका अध्यक्ष धनजन राईले जानकारी दिनुभयो । सोलु हाइड्रोपावरले आगामी मङ्सिर ७ गतेदेखि आईपीओ निष्कासन गर्ने तयारी पूरा गरेको छ । कम्पनीले १० अर्ब रुपैयाँ जारी पुँजीमध्ये २० प्रतिशत अर्थात् २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्न अनुमति पाएको जनाएको छ । 

जसमा १ करोड कित्ता आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ । तीमध्ये ४० लाख कित्ता सोलुदुधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङदुधकोशी गाउँपालिका–१ का अति प्रभावित बासिन्दाका लागि तोकिएको छ भने बाँकी ६० लाख कित्ता अन्य वडाका स्थानीयका लागि रहनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पनि कुल सर्वसाधारण भागको १० प्रतिशत अर्थात् १० लाख कित्ता शेयर छुट्टाइएको छ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता आवेदन दिन सकिनेछ ।

आयोजनाबाट प्रभावित क्षेत्रका लागि आवेदन मङ्सिर २१ देखि पुस ७ सम्म खुला रहनेछ भने विदेशमा रहेका नेपालीले मङ्सिर १० देखि अधिकतम मङ्सिर २१ सम्म आवेदन दिन सक्नेछन् । शेयर निष्कासनको प्रक्रिया अघि बढाइरहँदा नेचासल्यानबाट भने विभिन्न असन्तुष्टि व्यक्त भइरहेका छन् । प्रभावित क्षेत्र पहिचानमा भएको विवाद कायमै रहँदा निष्कासन प्रक्रियाको पारदर्शिता र न्यायप्रियतामाथि प्रश्न उठ्न थालेका छन् ।

काठमाडौँमा बन्यो सङ्घर्ष समिति

सोलु हाइड्रोपावरले निष्कासन गर्ने आईपीओप्रति असन्तुष्ट नेचासल्यान क्षेत्रका स्थानीयले काठमाडौँमा २९ सदस्यीय सङ्घर्ष समिति गठन गरी शेयर निष्कासन तत्काल स्थगन गर्न दबाब दिएका छन् ।

समितिले नेपाल धितोपत्र बोर्ड, कम्पनीको केन्द्रीय कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा ज्ञापनपत्र बुझाइसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button