१५ हजार बढीलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

सल्यान । बन्दाबन्दीको समयमा सल्यानका स्थानीय तहले घरमै पुगेर समाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।
चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा वितरण गर्नु पर्ने ज्येष्ठ नागरिक, एकल, अपाङ्गता, दलित र बाल पोषण भत्ता घरमै पुगेर वितरण गरिएको हो ।
दशवटै स्थानीय तहका १५ हजार पाँच सय ४० जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।
शारदा नगरपालिकामा दुई हजार नौ सय ९५ जना, वनगाड कुपिण्डे नगरपािलकामा तीन हजार २३ जना, त्रिवेणी गाउँपालिका एक हजार दुई सय जना, कुमाख गाउँपालिकामा दुई हजार दुई सय जना, शिद्धकुमाख गाउँपालिकामा एक हजार ९७ जना, कालिमाटी गाउँपालिका एक हजार चार सय जनालाई वितरण गरिएको छ ।
यस्तै छत्रेश्वरी गाउँपालिकामा एक हजार नौ सय जना, कपुरकोट गाउँपालिकामा एक हजार चार सय दुई जना र दार्मा गाउँपालिका सय ३० जनालाई भत्ता वितरण गरिएको छ ।
दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसी बन्दाबन्दीका कारण बैंकसम्म जाने अवस्था नरहेकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताउनुभयो । स्थानीय सरकार र जनतालाई जोड्ने कडिको रुपमा लकडाउन रहेको उहाँको भनाई छ ।
जनप्रतिनिधि र कर्मचारीहरु परिचालन गरेर घर घर पुगेर भत्ता वितरण गरिएको शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनुभयो ।
उहाँले विगतमा बैंकहरुबाट सामाजिक सुरक्षा वितरण भइरहेकोमा हाल विश्वभर फैलिएको कोरोना भाइरसका कारण सबै बैंकसम्म आउन सम्भव नभएकाले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्