तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीसहितको नेपाली कम्युनिस्ट पार्टीको घोषणा 

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीसहित विभिन्न दलहरू सम्मिलित पार्टी नेपाली कम्युनिस्ट पार्टीको घोषणा भएको छ ।

काठमाडौँको भृकुटीमण्डपमा आज आयोजित एकता राष्ट्रिय सम्मेलनबाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीसहित विभिन्न १० दलबीच एकता भई नेपाली कम्युनिष्ट पार्टीको घोषणा भएको हो ।

नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र पार्टीको सहसंयोजकमा माधवकुमार नेपाल चयन हुनुभएको छ ।

सम्मेलनमा नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले १० वटा कम्युनिस्ट घटकहरू एकै पटक मिलेको पहिलो तथ्य हुनसक्ने भन्दै आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको बताउनुभयो ।

संयोजक दाहालले यो एकतामा अझै एकताबद्ध हुन अन्य दलहरूसँग पनि हातेमालो गर्न पार्टी तयार रहेको पनि प्रष्ट पार्नुभयो ।

सम्मेलनमा पार्टी संयोजक प्रचण्डले पाटी एकता कम्युनिस्ट आन्दोलनको एकता मात्र नभई अहिले नेपाली राजनीतिमा देखा परेको चुनौती र संकट समाधानका लागि राष्ट्रिय आधारको एकतासमेत भएको उल्लेख गर्नुभयो ।

यस्तै सम्मेलनलाई सम्बोधन गर्दै पार्टीका सहसंयोजक माधवकुमार नेपालले नवगठित पार्टी नेपालको कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र जनताको आशाको केन्द्र बन्ने बताउनुभयो ।     

सहसंयोजक नेपालले नव गठित पार्टी एकताको ऐतिहासिक सुरुवात भएको भन्दै जनताको विश्वास जित्न र देशको समस्या समाधान गर्न पार्टी अघि बढ्ने धारणा राख्नुभयो ।    

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीबीचको एकता अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो ।   

सम्मेलनमा एकीकृत समाजवादीको तर्फबाट धारणा राख्दै नेता खनालले जनतामा भएको परिवर्तनको भावनालाई कसैले रोक्न नसक्ने भन्दै नवगठित पार्टीमा ५० प्रतिशत युवा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिनुभयो ।  

यस्तै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सिद्धान्त र व्यवहार फरक हुँदा वामपन्थी शक्तिभित्र समस्या सिर्जना हुने गरेको टिप्पणी गर्दै तत्काल समाजवादी कार्यक्रम लागू गर्नुपर्ने बताउनुभयो ।     

सम्मेलनमा पार्टीका नेता नारायणकाजी श्रेष्ठले नेपाली विशेषतासहितको वैज्ञानिक समाजवादको लक्ष्य पूरा गर्न नेकपा दृढतापूर्वक अघि बढ्ने बताउनुभयो । 

पार्टी नेतृ पम्फा भुसालले एकीकृत पार्टी नेपालको वामपन्थी आन्दोलनको मूल धारा रहेको उल्लेख गर्दै नयाँ पार्टीले समाजवादी क्रान्तिको कार्यभार पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button