वर्षाका कारण तमोर–कोरिडोर र भेडेटार–रवि–राँके सडक अवरुद्ध
कात्तिक । अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत धरान–धनकुटा सडक खण्डको भेडेटार मुनि कोल्वोटे क्षेत्रमा सडक भासिएर पहिरो गएको छ ।

पहिरोले सडक भाँसिदा सुमो, माइक्रो जस्ता साना सवारी साधनहरूलाई एकतर्फी रूपमा सञ्चालन गरिएको छ । ठूला र मालवाहक सवारी साधन आवत जावतमा पूर्ण रुपमा बन्द गरिएको छ । सो स्थानमा पहिरो खस्ने क्रम जारी रहेकोले यात्रुहरूलाई अत्यावश्यक नभए उक्त सडक खण्ड प्रयोग नगर्न आग्रह गरिएको प्रहरीले जनाएको छ । सडक दुवैतर्फ सञ्चालनको लागि सडक बनाउने काम सुरु गर्ने तयारी गरिए पनि वर्षाको कारण समस्या भएको छ ।
यसैगरी अविरल वर्षाको कारण धनकुटा–पाँचथर जोड्ने तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । पाँचथरको तुम्वेवा गाउँपालिका–२ र धनकुटाको चौबिसे गाउँपालिका–४ सिमानाबाट बग्ने नावाखोलामा पानीको बहाव बढेर बाढी आएपछि तमोर–कोरिडोर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो ।
बाढीका कारण सडकको केही भाग बगाएर सडक सम्पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । पाँचथरतर्फ र धनकुटातर्फ सडकमा सवारी साधन रोकेर राखिएको छ । अवरुद्ध सडक पुनः सञ्चालनका लागि डोजर परिचालन गरी मर्मत कार्य सुरु गर्ने तयारी भएपनि अविरल वर्षाका कारण आएको बाढीले समस्या भइरहेको प्रहरीले जनाएको छ । नावा खोलामा पक्की पुल नहुँदा वर्षा हुने बित्तिकै खोलामा पानीको बहाव बढ्ने हुँदा बाढी आएर सडक अवरुद्ध हुने गरेको छ । नावा खोलामा पक्की पुल निर्माणाधीन अवस्थामा रहेको छ ।
भेडेटार–रवि–राँके सडकखण्ड अन्तर्गत भेडेटार डाँडा बजार खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको छ । सडकमा पहिरो खस्दा दुवै तर्फका सवारी साधन रोकिएका छन् । अविरल वर्षाले पहिरो पन्छाउने काम हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्