तपाईँ सुन्दै हुनुहुन्छः

बाजुराको हिमालीमा बहुमूल्य जडीबुटी अवैध चोरी निकासी

बाजुरा  । बाजुराको दुर्गम हिमाली गाउँपालिकामा बहुमूल्य जडीबुटीहरूको अवैध चोरी निकासी हुने गरेको पाइएको छ। गाउँपालिकाको वडा नम्बर १ र ३ को जङ्गल क्षेत्रमा रहेका विभिन्न जडीबुटी अनियमित रूपमा उत्खनन गरी चोरी निकासी भइरहेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अनुसार वडा नम्बर १ को मैतार्ना र वडा नं. ३ को नेतीखोलाबाट मासपुर हुँदै हुम्लातर्फ जडीबुटी चोरी निकासी हुने गरेको हो। जडीबुटी निकासी बारे जानकारी पाएपछि गाउँपालिकाले बुधवार एक सार्वजनिक सूचना जारी गर्दै निगरानीमा सहयोग गर्न आग्रह गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापाद्वारा हस्ताक्षरित सूचनामा जडीबुटी चोरी निकासी रोक्न र आर्थिक ऐन अनुसार राजस्व सङ्कलनमा सहयोग गर्न सबैलाई अनुरोध गरिएको छ। साथै, असोज १० गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार सिमानाका पार गरी चोरी निकासी हुन लागेका जडीबुटी जफत गर्न वडा कार्यालयहरूलाई पनि निर्देशन दिइएको छ।

गाउँपालिकाका वडा नम्बर १, २ र ३ का जङ्गल क्षेत्रमा जटामसी, चिराइतो, सतुवा, पाँचऔले, भुल्ते, बनलसुन लगायतका बहुमूल्य जडीबुटी पाइने गरेका छन्। तर, ती जडीबुटीहरू अवैध उत्खनन र चोरी निकासीका कारण लोप हुने अवस्थामा पुगेका र यसले गाउँपालिकाको राजस्वमा समेत नकारात्मक असर पारेको जनाइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button