तपाईँ सुन्दै हुनुहुन्छः

विदेशबाट फर्केर अलैँचीमा सफलता : निरौलाको प्रेरणादायी कथा

इलाम । “विदेशको दुःखले सिकायो—आफ्नो माटोमै भविष्य छ,” इलाम नगरपालिका–२ सुम्बेकका किसान छवि निरौला।

विदेश जानु अघि छविको आफ्नै निजी बोर्डिङ स्कुल थियो। उनी त्यही विद्यालयमा टिचिङ पेसामा संलग्न थिए। शिक्षा क्षेत्रमा सक्रिय रहे पनि आर्थिक सुधारको खोजीमा सात वर्षका लागि मलेसिया गए।

सात वर्ष मलेसियामा पसिना बगाएर फर्किएका उनी अहिले इलामका सफल अलैँची किसानका रूपमा चिनिन्छन्। गाउँ फर्केपछि उनले कृषि बैङ्कबाट ऋण लिएर अलैँची खेती सुरु गरे। “मलेसियामा सात वर्ष बसेर पनि सामान्य घर परिवार मात्रै चल्थ्यो उनी सम्झन्छन्, “विदेश जानु भन्दा अगाडीको ऋण तिर्न मात्रै ठिक्क भयो । फर्किएपछि बैङ्कको सहायतामा खेती सुरु गरेँ। सुरुमा डर लाग्थ्यो, तर अहिले त्यस निर्णयले जीवन बदलिदियो।”

२५–३० रोपनीमा फैलिएको हरियो सपना

छविले सुरुमा ५–६ रोपनीमा अलैँची लगाएका थिए। अहिले उनका करिब २५ देखि ३० रोपनी खेत अलैँचीले हराभरा बनेका छन्। उनका बगानमा सलकपुरे, भार्लाङ र सेरेम्ना जातका अलैँची छन्। तीमध्ये भार्लाङ जातले अलि बढी आम्दानी दिने गरेको उनले बताए।

“हाम्रो ठाउँमा भार्लाङ जात राम्रो फल्छ, दाना ठूला र गन्ध मिठो हुन्छ,” उनी भन्छन्। कृषि र माटो दुवैको सन्तुलन कायम गर्न उनले हालसम्म रासायनिक मलको प्रयोग गरेको  छैन। “जैविक विधिबाटै खेती गर्दै आएको छु, बारीमा अहिलेसम्म किरा पनि देखिएको छैन,” उनी गर्वका साथ भन्छन्।

बजार मूल्य र आम्दानी

हाल बजारमा एक मन (४० किलो) अलैँचीको मूल्य १ लाख २ हजार रुपैयाँ पुगेको छ। त्यही कारण अहिले किसानहरूमा उत्साह छ, र छविको वार्षिक आम्दानी पनि कृषि क्षेत्रबाट ३० देखि ३५ लाख रुपैयाँ पुगेको छ । छविको बगानमा सुन्तला, अदुवा पनि उतिकै छ ।

यो बर्ष अलैँची २२ मन फलाएको छ बोटहरूमा राम्रोसँग फलेका छन्,” उनी भन्छन्, “यो बर्ष केही रोपनीको मात्र आम्दानी हो २२ मन अलैँची र अर्को वर्ष अझ बढी आम्दानी हुने सम्भावना छ।” विदेशको मेहनत नेपालमा बसेर कृषि क्षेत्रमा लगानी गर्न सके भनेजस्तो आम्दानी लिन सकिन्छ । “कृषिमा विश्वास गर्न सके भविष्य यहीँ छ,” उनी भन्छन्, “विदेशमा गरेको दुःख यहीँ लगानी गर्न सके देशले पनि फाइदा पाउँछ, र हामीले पनि सम्मानका साथ बाँच्न सक्छौँ।”

बाढीको असर र हिम्मत

असोज महिनामा आएको बाढीले उनको बगानमा केही क्षति पुर्‍यायो, तर उनले हिम्मत हारेका छैनन्। “यो पटकको बाढीले थोरै मात्र असर गर्‍यो,” उनी भन्छन्, “तर हामी किसानहरू स्थानीय मिलेर कुलो मर्मत गर्ने योजना बनाएका छौँ।” उनको भनाइमा, “फल राम्रै छ, पानीको व्यवस्था मिल्यो भने अर्को वर्ष अझ राम्रो परिणाम आउँछ।”

युवाहरूका लागि सन्देश

छवि निरौलाको कथा परदेशको सङ्घर्ष, ऋणको बोझ र आफ्नै माटोमा पुनः सुरु गरेको मेहनतको प्रेरणादायी उदाहरण हो। अहिले छवि यो पेसामा खुसी र सन्तुष्ट छन्। उनी भन्छन्, “विदेशमा भन्दा आफ्नो गाउँमा पसिना बगाउँदा मनको सन्तोष फरक नै हुन्छ। म चाहन्छु युवाहरूले पनि आफ्नो सीप, समय र लगन यहीँ देशमै प्रयोग गरून्— यहीँ हाम्रो भविष्य छ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button