छठ पर्व : पोखरामा अस्ताउँदो सूर्यलाई अर्घ दिइयो
पोखरा । पोखरामा आज (सोमबार) अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व धुमधामका साथ मनाइएको छ । सूर्य उपासना र आस्थाको पर्व छठ पर्व मनाउन सूर्यका भक्तहरूले फेवातालदेखि सेतीनदी हुँदै मन्दिर र पोखरीसम्म धार्मिक उल्लासका साथ अस्ताउँदो सूर्यलाई अर्घ सहितको फलफूल चढाउँदै छठ पर्व मनाएका हुन् ।

भोलि(मङ्गलवार) बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै यस वर्षको छठ पूजा विधिवत् रुपमा समापन हुने छ । तराई–मधेश समुदायका श्रद्धालुहरूले पोखरामै सहज वातावरणमा सूर्यदेवको आराधना गर्न सकुन् भन्ने उद्देश्यले पोखराका चार प्रमुख स्थल—फेवाताल किनारस्थित केदारेश्वर महादेवमणि मन्दिर परिसर, नारायण थान मन्दिर, भद्रकाली मन्दिर तलको कमलपोखरी र सेती–कालिखोला सङ्गमस्थित रिठ्ठाघाट त्रिवेणीधाम—मा विशेष व्यवस्थापन गरिएको छ ।
यी स्थलहरूमा सरसफाइ, झिलिमिली बत्ती, फूलमाला र टेन्ट जडान गरी पूजाका लागि आवश्यक तयारी गरिएको छठ पूजा समितिहरूले जनाएका छन् । पोखराको नारायण थान मन्दिर नजिकको नहरबाट पोखरामा छठ पर्व मनाउन सुरु भएको नारायण थान मन्दिर संरक्षण समितिका उपाध्यक्ष विनोद गुप्ताले जानकारी दिनुभयो ।

रिठ्ठाघाट त्रिवेणीधाम छठ पूजा समितिका अध्यक्ष हरिश्चन्द्र प्रसाद कुशवाहाले सेती र कालिखोला किनारमा टेन्ट, बत्ती र श्रद्धालुका लागि बस्ने व्यवस्था मिलाइएको बताउँदै सोमबार रातिदेखि खाजा र मङ्गलवार बिहान प्रसाद वितरणका लागि स्वयंसेवक टोली खटाइएको जानकारी दिनुभयो । अघिल्ला वर्षको तुलनामा यस वर्ष छठ पर्व मनाउनेको केही कमी भएको बताइन्छ ।

त्यस्तै, नेपाल बढी समाज भद्रकाली छठ पूजा समितिका अध्यक्ष तारानन्द शर्माले परम्परा अनुसार केराको खम्बा, उखु, सुन्तला, भोगटे लगायतका फलफूलका बोटहरूले मण्डप सजाउने र सूर्यदेवलाई भगवानका रूपमा अर्घ दिई मनोकामना पूर्तिको कामना गर्दै छठ पूजा हुने गरेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्