तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीको औलो प्रभावित क्षेत्रमा विषादी छरिँदै

बैतडी । बैतडीको औलो प्रभावित क्षेत्रको रूपमा रहेको पञ्चेश्वर गाउँपालिकामा विषादी छर्ने अभियान सञ्चालन गरिएको छ । 

पञ्चेश्वर गाउँपालिकाको वडा नं १ का झन्डै १ सय ५० घरधुरीमा विषादी छरिएको स्वास्थ्य कार्यालय बैतडीका ल्याब टेक्निनिसियन निरीक्षक जयसिंह बडालले जानकारी दिनुभयो । 

पञ्चेश्वरको वडा नं १ का दुई जनामा गत वर्ष औलो रोग देखिएकाले त्यो क्षेत्रमा विषादी छर्ने कार्य गरिएको उहाँले बताउनुभयो । दुई जनामा औलो देखिएकाले लामखुट्टेको लार्भा नष्ट गर्न विषादी छरिएको हो । 

औलो लामखुट्टेको टोकाइबाट लाग्ने रोग भएकाले लामखुट्टे विस्तार हुन नदिन विषादी छर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तीर्थराज भट्टले बताउनुभयो । 

बैतडीमा गत वर्ष ६ जनामा औलो देखिएको थियो । ६ जनामध्ये पञ्चेश्वरका दुई जना र मेलौलीका दुई जनामा स्थानीय औलो देखिएको थियो । मेलौलीमा पनि तिहारपछि विषादी छर्ने अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button