तपाईँ सुन्दै हुनुहुन्छः

कार्तिक कृष्ण त्रयोदशी : यमपञ्चक सुरु, घरघरमा यमदीपदान

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीको साँझ आज यमदीपदान सुरु गरेसँगै यस वर्षको तिहार अर्थात् यमपञ्चक आरम्भ भएको छ । 

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमयातना भोग्नु नपरोस् भनी यमदीपदान गरिन्छ । 

यमदीपदान परिवार सदस्य सङ्ख्याका आधारमा प्रत्येकको छुट्टाछुट्टै दिनुपर्ने धार्मिक मान्यता रहेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिनुभयो । 

यमदीपदान सुरु भएसँगै आजैदेखि घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा दीपावली गरिएको छ । तिहारलाई दीपको पर्व पनि भनिन्छ । यो नेपालीको दोस्रो ठुलो चाड हो ।

यमदीपदान गरी आज सुरु भएको तिहारको दोस्रो दिन आइतबार कागको पूजा गरी मीठा मीठा खानेकुरा खान दिइन्छ । सोमबार बिहान जलाशय, नदी, कुवामा गई स्नानसहित बत्ती बालेर बगाइन्छ । यसलाई नरक चतुर्दशी पनि भनिन्छ । यसै दिन बेलुकी लक्ष्मीपूजा गरिन्छ । 

चौथो दिन मङ्गलवार तिहारको कुनै कर्म नगरिने धर्मशास्त्रविद् प्राडा भट्टराईले बताउनुभयो । उहाँका अनुसार पाँचौँ दिन बुधवार गाईको पूजा गरिन्छ । यसै दिन गोवर्द्धन पूजा, बलि पूजा, हलितिहार, गोरुको समेत पूजा गरिन्छ । छैटौँ दिन बिहीबार दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि पाँच दिन लामो तिहार पर्व समापन हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button