तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा १८ औँ भाइटीका महोत्सव हुने

पोखरा । होटल सङ्घ पोखरा नेपालले तिहारका अवसरमा आगामी कात्तिक ६ गते १८ औँ भाइटीका महोत्सव २०८२ आयोजना गर्ने भएको छ ।

संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।

पछिल्लो पटक देशको विषम परिस्थितिका कारण पर्यटन क्षेत्र समेत प्रभावित हुन पुगेको बताउँदै उहाँले महोत्सवले पर्यटनलाई पुरानै लयमा फर्काउन टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

महोत्सवका संयोजक एवं सङ्घका उपाध्यक्ष गणेशराज पहारीका अनुसार महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्‍याएर समेत टीका लगाउन आउने अपेक्षा गरिएको छ । महोत्सवमा तिहारको महत्व, दीपावली तथा तिहारका पाँचै दिनका बारेमा सहभागी पर्यटकलाई जानकारी दिइने आयोजकले जनाएको छ ।

“तिहारको सांस्कृतिक पक्षलाई संरक्षण गर्दै यसैका माध्यबाट पर्यटक आकर्षित गर्ने अभिप्राय लिएको यस प्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको छ”, पहारीले भन्नुभयो । लेकसाइडस्थित होटल पौवामा हुने महोत्सवलाई नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाले प्रवर्द्धन गरेका छन् । महोत्सवलाई गोर्खा बियर र सोमरसबीले सघाएको सङ्घले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button