तपाईँ सुन्दै हुनुहुन्छः

‘निर्वाचनको पूर्व सुरक्षा योजना बनाई काम गर्न निर्देशन’ 

काठमाडौँ । गृहसचिव रामेश्वर दङ्गालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्व सुरक्षा योजना बनाई काम गर्न निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्दै उहाँले सशस्त्र प्रहरीले लिएको अवधारणा महत्त्वपूर्ण रहेकाले विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा, सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रण कार्यसमेत थप व्यवस्थित हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्षेत्रमा परिचालित हुँदा जनताप्रति प्रत्यक्ष रूपमा उत्तरदायी भएर  काम गर्न सुझाव दिँदै गृहसचिव दङ्गालले हामीले गर्ने दैनिक क्रियाकलापमा आफ्नो सोच, विचार, व्यवहार र कार्यशैली समयानुकूल परिवर्तन गर्न सकियो भने जस्तोसुकै कार्यमा समेत सफलता मिल्ने बताउनुभयो ।

सीमित स्रोतसाधनका बाबजुद पनि उपलब्ध जनशक्ति तथा साधन स्रोतको अधिकतम उपयोग गरी विभिन्न आन्दोलन, आपतविपद्मा परेकाहरूको उद्धार, बाढी पहिरो तथा विपद् व्यवस्थापनमा सशस्त्रको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उहाँले विपद् व्यवस्थापनमा समयमै परिचालित हुन सकिएमा मात्र आम नागरिकको धनजनको क्षति हुनबाट जोगाउन सकिने बताउनुभयो ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा र सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षाअनुरूप सुरक्षा प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्गठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान रही राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचालित हुँदै आइरहेको छ ।”

सुरक्षा निकायको आवश्यकता र औचित्य असामान्य, चुनौतीपूर्ण तथा अप्रिय परिस्थितिमा प्रदर्शन गर्ने कार्यकुशलता, निडरता र सुझबुझबाट प्रमाणित हुने उल्लेख गर्दै उहाँले आगामी फागुन २१ गते हुन गइरहेको आमनिर्वाचन शान्तिपूर्ण, स्वतन्त्र र निष्पक्ष रूपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल, नेपालले आन्तरिक शान्ति सुरक्षा कायम गर्ने भूमिका निर्वाह गर्न पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

निरीक्षणका क्रममा गृहसचिव रामेश्वर दङ्गालले प्रधान कार्यालयमा विपद् उद्धारमा प्रयोग हुने सामग्रीको अवलोकन गर्नुभएको बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button