तपाईँ सुन्दै हुनुहुन्छः

‘वास’ क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि समझदारी

काठमाडौँ।  खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको दिगो सुधार र समावेशी विकासका लागि दुई प्रमुख संस्थाबिच आपसी सहकार्यको औपचारिक थालनी सुरु भएको छ ।

राष्ट्रिय खानेपानी तथा सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता विकास केन्द्र तथा वातावरण र जनस्वास्थ्य संस्थाबिच द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो । सम्झौतामा केन्द्रका प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठ र एन्फोका कार्यकारी निर्देशक भावना शर्माले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौताअनुसार दुवै संस्था खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा सुरक्षित रूपमा व्यवस्थापित सेवा प्रणालीको प्रवर्द्धन गर्न संयुक्त रूपमा काम गर्ने र यसअन्तर्गत मानव मलमूत्र व्यवस्थापन, फोहर पानी व्यवस्थापन, ठोस फोहर व्यवस्थापन र नगरव्यापी समावेशी सरसफाइसम्बन्धी कार्यक्रममा साझा पहल गरिने उल्लेख गरिएको केन्द्रका प्रमुख एवं इन्जिनियर श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो समझदारीले दुवै पक्षबिचको सहकार्यलाई औपचारिकता दिने मात्र होइन, नेपालमा सुरक्षित रूपमा व्यवस्थापित खानेपानी तथा सरसफाइ प्रणाली सुदृढ गर्न ज्ञान व्यवस्थापन, क्षमता विकास र प्राविधिक सहकार्यको दिगो ढाँचा निर्माण गर्न टेवा पुर्‍याउनेछ ।”

केन्द्रले वास क्षेत्रमा संलग्न सरोकारवालाको सीप तथा दक्षता अभिवृद्धि गरी दक्ष जनशक्ति उत्पादन गर्ने दीर्घकालीन लक्ष्य राखेको केन्द्रले जनाएको छ । यसै सन्दर्भमा एन्फोसँगको सहकार्यद्वारा तालिम सामग्रीको विकास, भर्चुअल तालिम सुविधा विस्तार तथा अनलाइन लर्निङ म्यानेजमेन्ट सिस्टमका माध्यमबाट ज्ञान आदानप्रदानको कार्य अघि बढाइने जनाइएको छ ।

एन्फोले वास क्षेत्रमा प्रयोग हुने तालिम सामग्री तथा अन्य ज्ञान उत्पादन विकास गरी समीक्षाका लागि केन्द्रसँग साझेदारी गर्ने तथा सामग्रीको परीक्षण तथा परिमार्जनपछि ती अन्ततः केन्द्रको संस्थागत सम्पत्तिका रूपमा हस्तान्तरण गरिने भएका छन् ।

साथै एन्फोले राष्ट्रिय स्तरको वास रिपोजिटरी निर्माण गर्ने र सोमार्फत देशभरका सरोकारवालाका लागि वाससम्बन्धी स्रोत तथा जानकारी सार्वजनिक रूपमा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । ती सामग्री केन्द्रको आधिकारिक डोमेनमार्फत प्रवाह गरिनेछ ।

केन्द्रले आफ्नै परिसरमा भर्चुअल तालिम सञ्चालनका लागि पूर्वाधार तयार गर्ने र आवश्यक प्राविधिक सहयोग प्रदान गर्ने तथा यसअन्तर्गत एन्फोले विकास गरेका तालिम सामग्री तथा अन्य ज्ञान उत्पादनलाई अनुमोदन गरी वार्षिक तालिम कार्यक्रममा समावेश गरिने केन्द्र प्रमुख तथा इन्जिनियर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “यो पहलले दूर दराजका क्षेत्रमा रहेका वास क्षेत्रका पेशेवर तथा सेवा प्रदायकलाई तालिम तथा क्षमता विकासको अवसर पुर्‍याउने अपेक्षा गरिएको छ ।”

सम्झौताअनुसार दुवै संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा क्षमता विकास कार्यक्रम, अनुसन्धान र सिकाइ–साझेदारी गतिविधि संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । यस्तो सहकार्यबाट वास क्षेत्रमा नवप्रवर्तन र ज्ञान प्रवाहलाई थप सशक्त बनाइने विश्वास गरिएको छ ।

यो सम्झौता २०८२ असोज २३ गतेदेखि लागू भई २०८४ असोज २२ गते (९ अक्टोबर २०२५ देखि ९ अक्टोबर २०२७) सम्म मान्य हुने जनाइएको छ । आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने प्रावधानसमेत रहेको छ । सम्झौताअन्तर्गत दुवै संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा क्षमता विकास कार्यक्रम, अनुसन्धान तथा सिकाइ–साझेदारी गतिविधि संयुक्त रूपमा आयोजना गर्ने सहमति जनाइएको छ । सम्झौताले नेपालमा दिगो, समावेशी र वातावरणमैत्री खानेपानी तथा सरसफाइ प्रणाली सुदृढ गर्न योगदान पुर्‍याउने दुवै संस्थाको विश्वास रहेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button