तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा पाँच हजार बढीलाई राहत वितरण

सल्यान । सल्यानका दश वटै स्थानीय तहले दैनिक ज्यालादारी, मजदुरी गरेर जीविकोपार्जन गर्ने पाँच हजार बढी विपन्न परिवारलाई राहत वितरण गरेका छन् ।

स्थानीय तहले पाँच हजार चार सय ७३ घरपरिवारलाई राहत वितरण गरेका हुन् । जिल्लाको शारदा नगरपालिकाले सबैभन्दा धेरै नौ सय १६ घरपरिवारलाई राहत वितरण गरेको छ ।

यस्तै बागचौर नगरपालिकाले आठ सय ९० घरपरिवार, बन्गाड कुपिण्डे नगरपालिकाले सात सय ५३ बिपन्न घरपरिवारलाई राहत वितरण गरेको जनाएका छन् ।

कालीमाटी गाउपालिकाले आठ सय १३ घरपरिवार, दार्मा गाउपालिकाले चार सय ८४ घरपरिवार, छत्रेश्वरी गाउपालिकाले चार सय ५७ घरपरिवार, कुमाख गाउपालिकाले चार सय घरपरिवारलाई राहत वितरण गरेको छ ।

यस्तै सिद्धकुमाख गाउपालिकाले दुई सय ७५ घरधुरी, त्रिबेणी गाउपालिकाले तीन सय ५७ घरपरिवार र कपुरकोट गाउपालिकाले एक सय २८ बिपन्न घरपरिवारलाई राहत वितरण गरेका जनाएका छन् ।

असङ्गठित क्षेत्रमा कार्यरत श्रमिक तथा बिपन्न परिवारलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड अनुसार नै वितरण गरिएको त्रिबेणी गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले बताउनुभयो । वडास्तरबाट सङ्कलन भएको तथ्याङ्कमा पूर्ण छलफल गरी राहत वितरण गरिएको उहाँको भनाई छ ।

पहिलो चरणमा दुई सय ५७ घरपरिवारलाई राहत वितरण गरेको गाउपालिकाले दास्रो चरणको राहत वितरण गर्न शुरु गरेको छ ।

सोही अन्र्तगत आइतवार एक सय घरपरिवारलाई राहत वितरण गरिएको गाउपालिकाले जनाएको छ । लगातारको बन्दाबन्दीका कारण दैनिक जीविकोपार्जन गर्न समस्या भएकाहरूलाई राहत वितरण गरेको सिद्ध कुमाख गाउँपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले बताउनुभयो ।

वितरण प्रक्रियालाई एकद्धार प्रणालीबाट लागु गर्नुको साथै पीडितहरू कोही पनि नछुटुन् र नदोहोरिउन् भन्नेमा गाउँपालिका सचेत रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button