तपाईँ सुन्दै हुनुहुन्छः

जनकपुरधाममाको गंगा सागरमा जितिया पर्व मनाउनेहरूको भिड

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेशका जिल्लाहरूमा सन्तानको दीर्घायु तथा सु–स्वास्थ्यको कामनासहित शुरु भएको कठोर जितिया पर्व अन्तर्गत व्रतीहरू आज बिहानदेखि उपवास बस्नुभएको छ ।

आज अबेर बिहान दही, च्युरा, फलफूल तथा मिष्ठान्न ओठगन गरेपछि व्रतीहरू दिन र रात निराहार बसेर भोली बिहान व्रतको समापन गर्नेछ । प्रत्येक वर्ष भाद्रकृष्ण पक्ष अष्टमी तिथिका दिन मनाइने जितिया पर्वको उपवास अवधि तिथिको घटबढका कारणले कम भएको छ । यस वर्ष व्रतीहरूले करिब ३१ घण्टा उपवास बसेका छन् ।

आज बिहान र साँझ गरेर दुई पटक व्रतीहरूले घर नजिकको नदी, तलाउ, पोखरी वा जलासयमा पुगेर स्नान गरि चोखो वस्त्र धारण गरेर भगवान् जिमुतवाहनको कथा सुन्ने गरेका छन् । निक्कै नियम निष्ठापूर्वक मनाइने जितिया पर्व गर्नेले व्रतलाई सफल बनाउनका लागि एक घुट पानी पनि नखाई गर्ने भएकाले यसलाई कठोर उपवासको रुपमा लिइन्छ ।  

यसका साथै व्रतीले व्रत भङ्ग नहोस् भन्नका लागि सावधानी पूर्वक बस्ने र यसमा खरको तीनका पनि भाँच्न नहुने धार्मिक जनविश्वास रहेको छ । मधेश प्रदेशको राजधानी समेत रहेको प्राचीन मिथिलाका केन्द्र जनकपुरधाममा जितिया पर्व गर्ने व्रतीहरूको भिड जनकपुरधामका पोखरीहरूमा बिहान देखि नै रहेको छ ।

खास गरेर जनकपुरधामको गंगासागर, धनुषसागर, विहार कुण्ड, अग्नि कुण्ड, रत्न सागर, दुग्धमतिमा बिहान देखि नै व्रतीहरू स्नान, दान तथा पूजाका गरिरहेका छन् । पवित्रता पूर्वक व्रत सम्पन्न होस् भन्ने कामना सहित व्रतीहरूले विभिन्न प्रकारको धार्मिक क्रियाकलापमा आज दिन भरि संलग्न रहने गरेका छन् ।

जितिया पर्व गरेका महिलाको पुत्रलाई काल आए पनि आमाले जितिया व्रत गरेको छ भने कालको मुखबाट पुत्र बाहिर निस्कने जनविश्वास रहेकाले प्रायः हरेक आमाले यो पर्व गर्ने चलन रहेको छ । विगत केही वर्ष यता व्रत गर्ने महिलाहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

भोली बिहान पुनः स्नान गरेर व्रतीहरूले आ–आफ्ना सन्तानहरूलाई जितियाको अवसरमा जिमुतवाहन देवतालाई चढाएको खरी तेल टाउकोमा लगाई दिनुका साथै पर्वमा चढाइएको नयाँ डरा, डोरा लगाई दिने चलन रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button