ओखलढुंगामा भारतबाट फर्किएका एक युवाको मृत्यु, कोरोनाको आशंकामा स्वाब परीक्षण गरिँदै
ओखलढुंगा । ओखलढुंगामा भारतबाट गाउँ फर्किएका एक युवाको मृत्यु भएको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ७ माम्खाका विष्णु कार्कीको मृत्यु भएको हो ।
रोजगारीको सिलसिलामा छिमेकी मूलुक भारतमा बसोबास गर्दै आउनु भएका कार्की कोरोनाको संक्रमण सुरु भएपछि नेपाल फर्कनु भएको थियो ।
काठमाडाँैमा १४ दिन क्वारेन्टाइन बसेर गाउँ पुग्नु भएका कार्कीको बुधबार मृत्यु भएको हो ।
माम्खा घर भएका कार्की सपरिवारसहित एक महिना अगाडी मात्रै भारतवाट नेपाल आउनु भएको थियो ।
करीब एक महिनासम्म काठमाडौंमा रहेको कार्कीको परिवार लकडाउन लम्बिएपछि घर फर्किएको थियो ।
गाउँपालिका उपाध्यक्ष सुस्मिका राईका अनुसार कार्की परिवारलाई गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा राख्ने तयारी गरिए पनि काठमाडौमा क्वारेन्टाइन बसेको भन्दै घरैमा बसेका थिए ।
अचानक अत्याधिक ज्वरोसँगै, मुटु दुख्ने र स्वास फेर्न गाह्रो हुने भएपछि अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको रुम्जाटार अस्पतालका प्रमुख डा.सन्तोष देवले बताउनुभयो ।
‘अस्पताल ल्याइनपुग्दै उहाँको मृत्यु भइसकेको रहेछ ।’ डा. देवले भन्नुभयो, ‘लक्षण हेर्दा हृदयघात जस्तो देखिन्छ, भारतबाट आएको हुनाले स्थानीयले अरुनै शंका गरेको पनि पाइयो कोरोना हो होइन स्वाब परिक्षणले देखाउला ।’
भारतबाट फर्किएको हुनाले कोरोना संक्रमणको आशंकामा जिल्लामै आरडिटी परीक्षण गरिएको थियो ।
आरडिटी परीक्षण रिपोर्ट भने नेगेटिभ आएको जिल्ला कमाण्ड पोष्टका फोकल पर्सन सुमन तिवारीले बताउनुभयो । कार्कीको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं पठाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्