जंगली जनावर मारेको अभियोगमा दुई पक्राउ
मेलम्ची । जंगली जनावर मारेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गए राती त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २ लुङगुर्पा स्थित हिरा बहादुर गुरुङ र को टपिन्द्र बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।
घरेलु हतियार प्रयोग गरी जंगली जनावर मारेको छ भन्ने सुराकीको आधारमा उनीहरुको घरमा पुग्दा जंगली जनावरको मासु र दुई थान भरुवा बन्दुक समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षकको कमाण्डमा खटेको टोलीले पक्राउ गरेको हो ।
उनीहरुको घरमा खानतलासी गर्दा टपिन्द्रबहादुरको भान्सा घरमा मृग जस्तै जंगली जनावरको मासु पेरुङ्गो र बाटामा राखिएको अबस्थामा फेला परेको थियो । उनकै घरको पुजा कोठामा २ नाल भरुवा बन्दुक समेत फेला परेको प्रहरीले जनाएको छ ।
हिरा बहादुरको भान्सा घरमा खाना पकाउने चुलोको माथि निगालाको सिलमा मृग तथा मृग जस्तै जंगली जनावरको मासु सुकाई राखेको अबस्थामा फेला परेको हो । उनीहरुलाई अनुसन्धानको लागि बाह्रबिसेको हिरासत कक्षमा राखि थप अनुसन्धान कार्य जारि भईरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्