तपाईँ सुन्दै हुनुहुन्छः

सुशासन व्यवस्थापनका लागि नीतिगत सुधारको सुरुवात ः मन्त्री न्यौपाने

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले सुशासन व्यवस्थापनका लागि नीतिगत सुधारको सुरुवात गरेको बताउनुभएको छ ।

सामान्य प्रशासन मन्त्रीको रूपमा पदबहालीको एक महिना पुगेको अवसरमा मन्त्रालयद्वारा भएका कार्यहरूबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानेले आफूले पदबहालीका बखत गरेका प्रतिबद्धता अनुरूप सुशासन र कर्मचारी व्यवस्थापनका लागि नीतिगत सुधारको काम अघि बढाएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा मन्त्रालयको कार्य विवरण बारे जानकारी दिनुहुँदै सहसचिव प्रकाश दाहालले तीनै तहका सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणलाई व्यवस्थित बनाउन राष्ट्रिय मापदण्ड तर्जुमा गर्ने निर्णय अनुसार समिति गठन गरी कार्य अघि बढाइएको बताउनुभयो ।

सहसचिव दाहालले सबै कर्मचारीको व्यवस्थापन र सुशासन व्यवस्थापन सम्बन्धी गुनासो सुन्ने गुनासो व्यवस्थापन केन्द्रको स्थापना गरी दैनिक रूपमा प्राप्त गुनासोको समाधानको सुरुवात भएको जानकारी गराउनुभयो ।

उहाँले भविष्यमा गुनासो व्यवस्थापनको लागि छुट्टै डिजिटल एपको सुरुवात गर्ने योजना रहेको पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा हालसम्म बजेट नल्याएका स्थानीय तहहरूको अनुगमन मार्फत यही भदौ महिनाको पहिलो हप्ता भित्र बजेट ल्याउने गरी समन्वय र प्रतिबद्धता भएको, कर्मचारी सरुवा मापदण्डको मस्यौदामा समायानाकुल परिमार्जन गर्ने काम सकिएको जानकारी गराइएको छ ।

यसैगरी यस वर्षदेखि स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कनको नयाँ प्रणालीलाई कार्यान्वयनमा ल्याइने पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button