मुक्त कमैया परिवारको पुनर्स्थापना सरकारको प्राथमिकतामा : मुख्यमन्त्री शाह
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले मुक्त कमैयाको परिवारको पुनर्स्थापन कार्यलाई सरकारले प्राथमिकता दिएको बताउनुभएको छ ।

धनगढीमा आज २५ औँ कमैया मुक्ती दिवस कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले मुक्त कमैया परिवारको उचित व्यवस्थापन गरि जीविकोपार्जनका लागि सरकार गम्भीर रहेको बताउनुभयो । मुख्यमन्त्री शाहले प्रदेश भित्रका मुक्त कमैया, मुक्त हलियाको पुनर्स्थापना सम्बन्धी कार्यविधि कार्यान्वयनको चरणमा रहेको बताउनुभयो ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाले कार्यविधि अनुसार प्रदेश सरकारले मुक्त कमैया परिवारको पुनर्स्थापन कार्य अन्तरगत घर निमार्ण गर्दै आएको र यस बर्ष एक सय घर निर्माण गरिने योजना रहेको बताउनुभयो । उहाँले मुक्त कमैया परिवारको पुनर्स्थापन र जीविकोपार्जनका लागि सरकारले साढे ६ बजेट विनियोजन गरेको बताउनु भयो ।
सामाजिक विकास मन्त्री मेघराज खड्काले मुक्त कमैयाको शिक्षा र स्वास्थ्यमा सहज पहुँचका लागि सरकार लागि परेको र मुक्त कमलरीका लागि उच्च शिक्षा सम्म निःशुल्क छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभयो ।
कार्यक्रममा मुक्त कमैया समाजका पदाधिकारी, अगुवा, मुक्त कमैयाहरू लगायतको सहभागिता रहेको थियो । कैलालीमा छुटपुट, परिचयपत्र नभएका लगायत गरि पुनर्स्थापन हुन बाकी मुक्त कमैया परिवारको सङ्ख्या ९ सय बढी रहेको बताइएको छ । तत्कालीन सरकारले २०५७ साल साउन २ गते बधुवा मजदुरका रुपमा रहेका कमैया मुक्ती घोषणा गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्