कर्णालीमा पहिलो पटक बन्यो, स्यानिटाइजर गेट

सुर्खेत । सुर्खेतका दुई युवाले कर्णालीमै पहिलो पटक शरीर निर्मलीकरण गर्ने अत्याधुनिक उपकरण तयार गरेका छन् ।
युवा वैज्ञानिकका रुपमा ख्याति कमाएका दाजुभाइ राजेन्द्र विष्ट र श्यामकुमार विष्टले शरीर निर्मलीकरण गर्ने ‘वाक थ्रो स्यानिटाइजर गेट’ नामक मेसिन बनाएका हुन् ।
कोरोना भाइरसलगायतका अन्य किटाणु नष्ट गर्न उपकरण उपयोगी हुने बताइएको छ । राजेन्द्र बायो केमिष्ट तथा श्याम साइन्स फिजिक्सका अनुसन्धानकर्ता हुनुहुन्छ ।
पश्चिम नेपालमै पहिलो पटक आफूहरुले यस प्रकारको उपकरण बनाएको उहाँहरुको दाबी छ । राजेन्द्रका अनुसार विद्युतीय मोटर पम्पको सहायताबाट केमिकल स्पे्र गराएर तत्कालै व्यक्तिलाई भाइरसरहित गराउने सकिन्छ ।
स्यानिटाइजर गेटमा प्रवेश गर्ने र फर्किने दुईवटाद्वार रहेका छन् । प्रवेश गर्दा मेसिनमा रहेको सेन्सरले मोटर सञ्चालन गर्दछ । उक्त मेसिनमा निर्मलीकरणका रुपमा विश्वभर प्रयोग हुँदै आएको सोडियम हाइपोक्लोराइट केमिकल प्रयोग गरिएको छ ।
“यो मेसिन प्रयोग गरेर दैनिक सयौँ मानिसलाई पूर्णरुपमा किटाणुरहित गराउन सकिन्छ”, राजेन्द्रले भन्नुभयो, “सेवाग्राही तथा कर्मचारीको भीडभाड बढी हुने कार्यालयमा स्यानिटाइजर गेट निर्माण गर्दा धेरै उपयोगी हुन्छ ।” आफूहरुले पहिलो पटक निर्माण गरेको नमूना स्यानिटाइजर गेट वीरेन्द्रनगर नगरपालिकालाई निःशुल्क प्रदान गरेको उहाँले जानकारी दिनुभयो ।
यसका लागि सोलार सिस्टम जडानमा रु ८० हजार, विद्युतीय सिस्टम जडानमा रु ६० हजार लागत लाग्छ । साथै एउटा प्याकेजका लागि कम्तीमा ५० लिटरको केमिकल आवश्यक पर्छ ।
विष्ट दाजुभाइले वीरेन्द्रनगरमा सुर्खेत साइन्स एण्ड सर्जिकल र सुर्खेत बायोकेमिकल एण्ड हाइजिन इन्डस्ट्री सञ्चालन गर्नुभएको छ ।
यी उद्योगबाट ‘सुबिन’ ब्राण्डका हार्पिक, स्यानिटाइजर उत्पादन हुँदै आएका छन् । रासस







प्रतिक्रिया राख्नुहोस्