प्रत्येक जिल्लामा कोरोना अस्पताल बनाउन पूर्व राष्ट्रपतिको सुझाव
पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिलेको महामारीसँग जुध्नका लागि प्रत्येक जिल्लामा अलग अलग कोरोना अस्पताल स्थापना गरी कोरोना भाइरस नियन्त्रणलाई प्रभावकारी बनाउनुपर्ने सुझाव दिनु भएको छ ।
आज रेडियो नेपालसँग कुरा गर्नुहुदैं नेपालका प्रथम राष्ट्रपति डा. यादवले भएको साधन स्रोत, जनशक्ती र स्वास्थ्य उपकरणको सदुपयोग गरी महामारी बिरुद्धको अभियानलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिनुभएको हो ।
स्थानीय सरकारलाई साधनस्रोत प्रदान गरेर महामारी नियन्त्रणका लागि सक्रिय बनाउनुपर्ने, विश्वस्वास्थ्य संगठनले जारी गरेका निर्देशिकाको पूर्ण पालना गर्नुपर्ने उहाँले बताउनुभयो ।
पूर्व राष्ट्रपति यादवले कोरोना भाइरसको परीक्षण तथा उपचारमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सुरक्षा उपकरण पर्याप्त मात्रामा उपलब्ध गराउनु पर्ने बताउनुभयो ।
पूर्व राष्ट्रपति डा. यादवले विकसित र उच्च स्तरको स्वास्थ्यउपचार सुविधा भएका देशलाई पनि महामारीसँग जुध्न कठिन भईरहेकाले नेपालमा शहरदेखी गाउँसम्म थप सचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भारतसँगको सिमा नाकामा लुकिछिपी हुने आवतजावत रोक्न थप कडाई गर्दै परीक्षणलाई थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्