तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरी पर्साद्वारा ११ महिनामा २६ करोड ९२ लाख बढीको तस्करीको सामान बरामद  

वीरगंज । सशस्त्र प्रहरी १३ नम्बर गण पर्साले चालु आर्थिक बर्ष २०८१/०८२ को ११ महिनामा २६ करोड ९२ लाख ८८ हजार ४९ रुपैयाँ बराबरको चोरी तस्करीको सामान बरामद गरी वीरगंज भन्सार कार्यालयमा दाखिला गरेको छ । 

सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर  सिंहले वीरगंज सहित पर्सा जिल्लाका विभिन्न सीमा नाकाहरूबाट चालु आर्थिक वर्षको जेठ मसान्त सम्म २६ करोड ९२ लाख बढिएको सामान बरामद गरी भन्सार बुझाइएको बताउनुभयो । 

सूचना अधिकारी सिंहले सो अवधिमा स्रोत नखुलेको अवैध हुण्डीको १ करोड १५ लाख ९४ हजार ५ सय २२ रुपैयाँ सहित २१ जनालाई पक्राउ गरी कानुनी कारबाहीका लागि पर्सा प्रहरीलाई जिम्मा लगाइएको बताउनुभयो । 

त्यसैगरी सशस्त्र प्रहरीले ११ महिनामा अवैध रुपमा पर्सा राष्ट्रिय निकुञ्ज तथा बन क्षेत्रबाट अवैध रुपमा कटान गरी ल्याउँदै गरेको अवस्थामा ४१ लाख ४ हजार ३ सय ४० रुपैयाँ बराबरको काठ समेत बरामद गरेको छ । 

सूचना अधिकारी सिंहले सशस्त्र प्रहरी पर्साले सो अवधिमा अवैध लागुऔषधको कारोबारमा संलग्न ३० जना, हुण्डी कारोबारी २१ जना, चोरी तस्करीमा संलग्न २१ जना, मानव तस्करीमा संलग्न ७ जना गरी अन्य अपराधमा संलग्न ९४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी पर्साले चालु आर्थिक बर्ष २०८१/०८२ को ११ महिनामा ३ सय ९९ सय किलो ग्राम लागुऔषध गाँजा, ३९ किलोग्राम चरेश, एवं २ लाख ३३ हजार पिस तथा एम्पुल अवैध लागुऔषध बरामद गरेको जानकारी सूचना अधिकारी सिंहले दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button