तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक: बजेट माथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान बजेटमाथिको छलफल जारी रहेको छ । 

बैठकमा पूर्व अर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बजेटले मुलुकको वर्तमान आर्थिक यथार्थता, जनताको अपेक्षा र दीर्घकालीन सुधार सम्बोधन गर्ने स्पष्ट सङ्केत गरेको बताउनुभयो ।

उहाँले बजेटले निर्धारण गरेका प्राथमिकता र लक्ष्य उपर्युक्त रहेको धारणा राख्दै उच्च र फराकिलो आर्थिक वृद्धिदर हासिल गरी गरिबी निवारण गर्ने, उद्यमशीलता विकास गर्ने, सार्वजनिक तथा नीजि लगानी विस्तार गरी रोजगारी सिर्जना गर्ने जस्ता बजेटमा आएका प्राथमिकताका विषय महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । 

नेकपा एमालेका सांसद पद्म गिरीले बजेट देशको बिग्रिएको अर्थतन्त्रलाई लयमा फर्काएर देशलाई समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पुरा गर्ने दिशातर्फ नयाँ फड्को मार्नेगरी आएको बताउनुभयो ।

उहाँले बजेटमा राखिएको राजस्वको अनुमान महत्त्वाकाङ्क्षी नभई व्यवहारिक र पुरा गर्न सक्ने खालको रहेको भन्दै राजस्वको लक्ष्य पुरा गर्न राज्यका संयन्त्रलाई चुस्तदुरुस्त राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो । 

नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले भिजिट भिसाको विषय आम सरोकारको विषय बनेकाले यसको गम्भीर छानविन आवश्यक रहेको र ३० दिनभित्र छानविन समिति बनाएर काम शुरु गरिसक्ने उद्घोष सरकारले गरेकाले तत्काल समिति गठन गरी समस्या समाधान तर्फ लाग्न आग्रह गर्नुभयो ।

उहाँले उहाँले २०÷२५ लाखसम्मका साना आयोजनाका लागि पनि बजेट विनियोजन भएको र तथ्यलाई छोप्न नहुने भन्दै तीन करोडभन्दा साना आयोजना बजेटमा नआएको भनेर भ्रम छर्न खोजिएको आरोप लगाउनुभयो ।

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले बजेटलाई सरकारका मन्त्रीहरूले एकलौटी कब्जा गर्न खोजिएको र दुर्गम जिल्लामा स्वास्थ्य चौकी, खानेपानी जस्ता आधारभूत विषयमा बजेट नदिइएको बताउनुभयो ।

सांसद रञ्जु कुमारी झाले बजेट जनहित र जनमैत्री भएको भन्दै यसको कार्यान्वयन पक्षलाई राम्रो बनाउने तर्फ सरकारले काम गर्नुपर्ने बताउनुभयो । 

सांसद अब्दुल खाँनले सबै प्रतिपक्षीलाई बजेटमाथिको छलफलमा भाग लिने वातावरण बनाउन माग गर्नुभयो ।

उहाँले सबै ठाउँमा समानरुपमा बजेट विनियोजन हुन नसकेको र कतिपय महत्वपूर्ण आयोजनामा नै बजेट न छुट्टाइएको बताउनुभयो ।

बैठकको बीचमा फरक–फरक समयमा सांसद सूर्यबहादुर थापा र दामोदर पौडेल बैरागीले नियमापत्ति गर्दै संसद् सञ्चालनका लागि मर्यादा कायम गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराउनुभएको थियो ।

उहाँले नियमापत्ति गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले बेल घेराउ गरी भुईँमा बसेर संसदमा अवरोध गरिरहनुभएको थियो । 

बैठकमा सांसदहरु रामप्रकाश चौधरी, लालवीर चौधरी, प्रेम सुवाल, चित्रबहादुर केसी, उदय समशेर जवरालगायतका सांसदहरुले बजेटले आम नागरिकको समस्या हल गर्नुपर्ने, सुशासन र पारदर्शिता कायम गर्नुपर्ने तथा बजेट कार्यान्वयनका लागि सरकारले प्रभावकारी समन्वय गर्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयाे

प्रतिक्रिया राख्नुहोस्

Back to top button