बाजुराको गौमुल गाउँपालिकामा बाघ आतंक, २८ भेडा मरे

बाजुरा । बाजुराको गौमुल गाउँपालिकामा बाघको आतंक बढेको छ । गाउँपालिकाको अन्द्रडी र पौदालीमालगातार बाघ आतंक भइरहेको छ ।
यसअघि गाउँपालिकाको–१ अन्द्राडीमा बाघको आक्रमणबाट १९ भेडा मारेको एक दिन नबित्तै फेरि वडा नम्बर २ को पौदालीमाशनिबार बाघको आक्रमणबाट करिब नौ भेडा मरेका छन् ।
शनिवार मध्येराति १२ बजे तिर गाउँनजिकैको गोठ छानामा हुलेका भेडालाई बाघले आक्रमण गरी मारेको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
बिहिबार बाघको आक्रमणबाट स्थानीय काँशीबोहराका आठ वटा, हिमाल रोकायाका सात वटा, शिव रोकायाका दुई वटा र माता रोकायाका दुई वटा गरी १९ भेडा बाघले मारेको स्थानीय हंस रोकायाले जानकारी दिनुभयो ।
गोठमा हुलेर राखेको भेडाहरुलाई गएराति बाघले आक्रमण गर्दा करिव दुई लाख रुपैंया बढीको नोक्सान भएको छ । स्थानीयको आयस्रोतको रुपमा रहेको भेडा व्यवसाय बारम्बार बाघले आक्रमण गरी मार्दा किसानहरु मर्कामा परेका छन् ।
त्यस्तैगरी बाघको आक्रमणबाट स्थानीयका भेडाहरु मारेर धेरै क्षतिभएको बताउँदै गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गाउँपालिकाबाट आवश्यक राहतको व्यवस्था गर्ने बताउनुभयो ।
उहाँले स्थानीयले लाखौंको क्षती बेहोर्नु परेको बताउँदै तत्काल क्षती अनुसार स्थानीयलाई राहत दिने र बाघ नियन्त्रणका लागि गाउँपालिकाले आवश्यक पहल गर्ने बताउनुभयो ।
परम्परागत भेडापालन व्यवसाय संकटमा परेको बेला बाघ आतंक बढेपछि स्थानीय अझ चिन्तित हुन थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्