नेपाल नागरिकता दोस्रो संशोधन विधेयकमाथि संशोधनकर्ता सांसदहरूसँग छलफल शुरु
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि संशोधन कर्ता सांसदहरूसँग छलफल शुरु गरेको छ ।

समितिको आजको बैठकमा संशोधन कर्ता सांसदहरुले आमाको नामबाट नागरिकता पाउने व्यवस्थालाई थप सहज बनाइनुपर्ने, ब्रिटिस गोर्खा र उनीहरूका सन्तानलाई समेट्न गरी विषय स्पष्ट गर्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा गृहमन्त्री रमेश लेखकले सबै नेपालीले सहज रुपमा नागरिकता प्राप्त गर्न र बाबुको ठेगान नभएकाहरूलाई आमाको नामबाट नागरिकता दिने विषयलाई सरलीकरण गर्न विधेयक महत्वपूर्ण भएको बताउनुभयो ।
गृहमन्त्री लेखकले पछिल्लो समय नागरिकता लिनका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालयहरूका टोकन प्रणालीको व्यवस्था गरी कार्यान्वयनमा ल्याइएको र जिल्ला प्रशासन जान कठिन हुनेहरूका लागि इलाका कार्यालयबाट पनि नागरिकता लिन सक्ने व्यवस्था अगाडी बढाइएको बताउनुभयो ।
समितिका सभापति रामहरि खतिवडाले ब्रिटिस गोर्खामा काम गर्ने तथा उनीहरूका सन्तान र एनआरएनका विषयमा छुट्टाछुट्टै रुपमा स्पष्ट धारणा आउनुपर्ने बताउनुभयो । नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक २०८१ माथि प्रतिनिधि सभाका ५१ जना सांसदहरुले एकल र संयुक्त गरी ८५ वटा विषयमा संशोधन हाल्नु भएको छ ।
विधेयक २०८१ मा माघ १५ प्रतिनिधि सभामा दर्ता गर्नुभएको थियो । समितिले हिजो बुधबार विधेयकमाथि सैद्धान्तिक छलफल गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्