कैलालीकाे गाेदावरीमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको स्थापना

धनगढी । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले एकीकृत शहरी विकास आयोजनालाई प्राथमिकतामा राखी काम गरिरहेको बताउनुभएको छ।
कैलालीको गोदावरी नगरपालिका–३ स्थित चौकीडाँडामा आज आयोजित कार्यक्रममा मन्त्री सिंहले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्रको उद्घाटन गर्नुभयो। उहाँले पूर्वाधार विकासका ठूला आयोजना अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको र दीर्घकालीन योजनामा लगानी भइरहेको जानकारी दिनुभयो।
“देशभरका १८५ नगरपालिकाका लागि एकीकृत शहरी विकास योजना तयार गरिएको छ,” मन्त्री सिंहले भन्नुभयो, “सरकारले तराई क्षेत्रमा १ हजार किलोमिटर सडक निर्माण गरिसकेको छ, र सुरक्षित आवास निर्माणका लागि स्थानीय तहलाई अनुदान उपलब्ध गराइएको छ।”
उहाँले वातावरण स्वच्छ बनाउन फोहोरमैला व्यवस्थापनसँगै प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक लगाउनु आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले सघन शहरी विकास कार्यक्रमअन्तर्गत सञ्चालित फोहोरमैला व्यवस्थापन केन्द्र तथा दिशाजन्य पदार्थ प्रशोधन प्रणाली योजनाको बारेमा जानकारी दिनुभयो। उहाँका अनुसार सो केन्द्रले गोदावरी नगरपालिका, कृष्णपुर नगरपालिका, र गौरिगंगा नगरपालिकाबाट संकलित फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता राख्दछ।
उक्त केन्द्र एशियाली विकास बैंकको करिब ५२ करोड रुपैयाँ ऋण तथा अनुदान सहयोगमा निर्माण गरिएको हो।
प्रतिक्रिया राख्नुहोस्