प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिपक्षी दलको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभाको बैठक भोली बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित भएको छ ।
भिजिट भिषा प्रकरणमा स्वतन्त्र छानबिनका लागि गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने प्रतिपक्षीको अडान कारण आज पनि प्रतिनिधिसभा बैठक बस्न सकेन ।
यसअघि, आजको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले बैठकको कारबाही प्रारम्भ हुन्छ भने बित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर अवरोध शुरु गर्नुभयो ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले दलीय आधारमा बोल्न समय दिने बताउँदै सभा सञ्चलनका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।
सभामुखले दलीय आधारमा समय दिने र गृहमन्त्री लेखकले पनि संसद्मा बोल्न समय माग गर्नुभएकाले बोल्ने वातावरण बनाउन पटक–पटक आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरूले विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले पहिलो बैठक आधा घण्टाका लागि स्थगित गर्नुभएको थियो ।
त्यसपछि, पनि बैठक बस्न नसकेपछि सूचना टाँस गरी दिउँसो साढे ३ बजेसम्मका लागि स्थगित गरिएको बैठक पुनः सूचना टाँस गरी भोलि बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नताको आशङ्का गर्दै गृहमन्त्री लेखकको राजीनामा र छानबिन आयोग गठन नभएसम्म बैठक बस्न नदिने बताउँदै आएका छन् ।
प्रतिनिधिसभाको आजको कार्यसूचीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्