अनियमितता गरेको प्रमाणित भए राजनीतिबाटै अलग्गिन्छु : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संवैधानिक निकायबाट कुनै पनि बेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनसक्ने बताउनुभएको छ ।
आज यहाँ सञ्चारकर्मीहरूसँग उहाँले गृह मन्त्रालयअन्तर्गत हजारौँ कर्मचारी रहेकाले कुनै कर्मचारीमाथि अनुसन्धान हुने बित्तिकै मन्त्रीले नै राजीनामा दिने कुराले राम्रो नजिर नबसाल्ने जिकिर गर्नुभयो ।
गृहमन्त्री लेखले अगाडि भन्नुभयो,“गृह मन्त्रालयमा हजार, लाख कर्मचारी छन् । यहाँ रहेका कुनै पनि कर्मचारीमाथि संवैधानिक निकायले जुनसुकै बेला अनुसन्धान गर्न सक्छ । के त्यसो हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो? के त्यही पद्धति बसाउने हो? त्यो सम्भव छ? त्यसकारण मैले भनिसके मेरा विरुद्ध राजनीतिक र नियोजित रूपले षड्यन्त्रमूलक ढङ्गले झुट्टा प्रचारबाजी भइरहेको छ ।”
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा ‘भिजिट भिसा’ का विषयमा मात्रै होइन, आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू पदबाट मात्र नभई राजनीतिबाटै अलग्गिने बताउनुभयो । “अहिले जुन सवाल उठिरहेको छ, यसका सन्दर्भमा मात्रै होइन, मेरो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्यो भने म पदबाट होइन राजनीतिबाट राजीनामा दिन्छु”, लेखकले भन्नुभयो,“यसर्थ मेरा विरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गबाट झुट्टा प्रचारबाजी भइरहेको छ । यस विषयमा विस्तृत धारणा राख्न आगामी जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय माग गरेछु ।”
यसअघि, आजै गृह मन्त्रालयले पनि प्रेस विज्ञप्ति जारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर समाचार प्रकाशित÷प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालय र नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको स्पष्ट पारिएको छ ।







प्रतिक्रिया राख्नुहोस्