तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाद्वारा दुर्गम क्षेत्रमा हेलिप्याड निर्माण: विपतमा अब सहज उद्धार सम्भव

मुगु । नेपाली सेनाले मुगु जिल्लाको अति दुर्गम मुगुम कार्मारोङ्ग गाउँपालिका–१ पुतुमा हेलिप्याड निर्माण गरी स्थानीय पालिकालाई हस्तान्तरण गरेको छ।

उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजङ्ग थापाले शुक्रबार एक समारोहका बीच गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामालाई उक्त हेलिप्याडको जिम्मा हस्तान्तरण गर्नुभएको हो।

समारोहमा बोल्दै अध्यक्ष लामाले नेपाली सेनाको प्रयासको प्रशंसा गर्दै भने, मुगुमका जनताले अतीतमा विपतको बेलामा समयमा उद्धार र राहत पाउने अवसरबाट वञ्चित हुँदै आएका थिए। सुत्केरी महिला र बिरामी नागरिक समयमै उपचार नपाएर ज्यान गुमाउने अवस्था थियो। अब पालिकाभित्रै मापदण्डअनुसारको हेलिप्याड निर्माण भएपछि आवश्यक परेको बेला हेलिकप्टर सेवा सहज हुनेछ ।

पृतनापति थापाले दुर्गम क्षेत्रका नागरिकले पनि राज्यको उपस्थिति अनुभूत गर्न सकुन् भन्ने उद्देश्यले नेपाली सेनाले यस्ता पूर्वाधार निर्माणलाई प्राथमिकता दिइरहेको बताउनुभयो। उहाँले विपद्‌ व्यवस्थापन, जटिल सुत्केरी केसको उद्धार र राहत वितरणमा हेलिप्याडले ठुलो सहजीकरण गर्ने विश्वास व्यक्त गर्नुभयो।

मुगुम कार्मारोङ्ग क्षेत्रमा यार्सागुम्बा सङ्कलनका लागि हरेक वर्ष हजारौँ व्यक्ति पुग्ने गर्छन्। उच्च हिमाली भेग, चिसो मौसम, अक्सिजनको कमी लगायतका कारण सङ्कलकहरू बिरामी हुने र समयमा उपचार नपाएर मृत्युको जोखिममा पर्ने अवस्था छ। सेनाको हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारिका अनुसार, अब बिरामी सङ्कलकहरूको शीघ्र उद्धार सम्भव हुनेछ।

१६ लाख ४७ हजार ६३० रुपैयाँ ६० पैसाको लागत अनुमान गरिए पनि नवीन निर्माण सेवाले ८ लाख ४४ हजार १७३ रुपैयाँ ६० पैसामा निर्माणको जिम्मा लिएको थियो। २०८१ साल माघ २५ गते सुरु भएको निर्माण कार्य २०८२ जेठ २ गते सम्पन्न भएको हो।

हनुमान ध्वज गुल्म हुटु राराको समन्वयमा सम्पन्न उक्त हेलिप्याड अब गाउँपालिकाको स्वामित्वमा रहने छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button