औषधी र औषधीजन्य कच्चा पदार्थ बोकेका डेढ दर्जन बढी ट्रक र कन्टेनर रक्सौलमा रोकिए

बिरगंज । भारतबाट नेपालका लागि ल्याइएका औषधी र औषधीजन्य कच्चा पदार्थ बोकेर आएका झण्डै डेढ दर्जनभन्दा बढी मालवाहक ट्रक तथा कन्टेनर रक्सौल नाकामा राकिएका छन् ।
लकडाउनको कारण देखाउदै भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामा नेपालका लागि आयातित औषधी तथा औषधीजन्य कच्चा पदार्थ रोकेपछि भारतका बिभिन्न शहरबाट नेपालका आयतकर्ताले मगाएका औषधि र औषधिजन्य कच्चा पदार्थ लामो समयदेखि रक्सौलमा अलपत्र परेको छ ।
रक्सौलस्थित भारतीय कस्टमका अधिकारीले नेपालका लागि औषधि र कच्चा पदार्थ बोकेर आएका गाडीहरु रक्सौल नाकामै रोकिदिएको आयातकर्ता एवं उद्योगीले बताएका छन् ।
भारतले निर्यातमा रोक लगाएका २८ प्रकारका औषधिको सूचीमा नपरेका औषधि र कच्चा पदार्थ पनि भारतीय कस्टमका अधिकारीले जाँचपास नगरी दिएका कारण रक्सौलमै औषधिका गाडीहरु रोकिएको व्यवसायिहरुले बताएका छन् ।
कोरोनाको संक्रमण दर बढ्दो क्रममा रहेपछि भारतले आन्तरिक आवश्यकतालाई ध्यानमा राख्दै प्यारासिटामोलदेखि एन्टीबायोटिक सम्मका २८ प्रकारका औषधि र सोको कच्चा पदार्थ मार्च ३ तारिखदेखि निर्यातमा रोक लगाएको व्यवसायिहरुले बताएका छन् ।
भारतले निर्यातमा रोक लगाउनुभन्दा पहिले नै खरिद गरिएका औषधि पनि रक्सौल कस्टमले जाँचपाच नगरिदिएका कारण तीन ट्रक औषधि एक् महिनादेखि रक्सौल नाकामै थन्किएको नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रकाश खण्डेलवालले बताउनुभयो ।
उहाँले मुम्बईबाट फेब्रअरीमा खरिद गरी मगाइएको औषधी र कच्चा पदार्थ समेत रक्सौल कष्टमा रोकिदा आफूहरु समस्यामा परेको जानकारी दिनुभयो ।
नाकामा रोकिएका तीन वटा मालवाहक ट्रकमा पारा सिटामोल, ओर्निन्डाजोल, मेट्रोनिन्डाजोल, भिटामीन बी टु ,भिटामीन सिक्स गरी १३ प्रकारका औषधि रहेको खण्डेलवालले जानकारी दिनुभयो ।
नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष प्रभात रुङगटाले नेपालका औषधि उद्योगका कच्चा पदार्थ र औषधि प्याकिङ गर्ने समान बोकेर आएका दर्जनौ ट्रक रक्सौल कस्टममै चार दिनदेखि अलपत्र परेको बताउनुभयो ।
कच्चा पदार्थको अभावमा वीरगंज पथलैया औद्योगिक करिडोरमा रहेका जिडी फर्मास्युटिकल्स वीरगंज, एलायन्स फर्मास्युटिकल्स सिमरा, समर फर्मा छापापिपरा वारा, जेनेटिका लेबोट्री मोतिसर बारा र युनिक फर्मास्युटिकल्स छातापिपरा बारा बन्द भएको रुगटाले बताउनुभयो ।
वीरगंज पथलैया औद्योगिक करिडोरमा रहेका १४ वटा औषधी उत्पादन गर्ने कारखानाहरु बन्द भएपछि औषधीको अभाव बीरगंजमा समेत देखिन थालेको र ज्वरो, रुघाखोकीको औषधीहरुको अभाव हुन थालेको वीरगंजका औषधी विक्रेताहरुले बताएका छन् ।
मानिसको जीवनसँग जोडिएको औषधी जस्तो संवेदनशिल वस्तुको आयातमा रोक लगाईएको घटनाप्रति राज्य गम्भिर हुनु पर्ने माग औषधी व्यवसायीहरुले गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्