तपाईँ सुन्दै हुनुहुन्छः

रारा गोल्डकप: तेस्रो खेलमा सलहेश र विर्तामोड भिड्दै

धनकुटा। धनकुटाको राजारानीमा जारी रारा गोल्डकप फुटबल प्रतियोगिताको १२ औँ संस्करणमा बुधबार तेस्रो खेल हुँदैछ।


बुधबार हुने तेस्रो खेलमा साविक विजेता सलहेश फुटबल क्लब सिराहा र विर्तामोड युनाइटेड क्लब झापा बीच हुँदै छ। खेल दिउँसो साढे ३ बजेपछि राजारानीस्थित पुण्य माविको खेलमैदान हुनेछ।

यसअघि मङ्गलवार भएको  प्रतियोगिताको दोस्रो खेलमा मोरङको एलएक्स सिटी फुटबल क्लबले धनकुटाको डाँडा बजार फुटबल क्लबलाई ० का विरुद्ध २ गोलले पराजित गरेको थियो भने सोमबार सम्पन्न पहिलो खेलमा आयोजक रारा फुटबल क्लबलाई ० का विरुद्ध ४ गोल अन्तरले हराउँदै गोल्डेन स्टार फुटबल क्लब सुनसरी विजयी भएको थियो। विजयी भएसँगै गोल्डेन स्टार र एलएक्स सिटी सेमिफाइनलमा प्रवेश गरेका छन् भने, बुधवारको खेलको विजेता पनि सेमिफाइनलमा प्रवेश गर्नेछ। 

प्रतियोगिता अन्तरगत बिहीबार पहिलो चरणको अन्तिम खेल ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ र बागमती युथ क्लब सर्लाही बिच हुने आयोजकले जनाएको छ।

आगामी जेठ ४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँ र उपविजेता लाई नगद ३ लाख रुपैयाँ हात पार्ने आयोजक रारा फुटबल क्लबका अध्यक्ष मणि चेम्जोङले जानकारी दिनुभयो।

 प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने र सबै विधाका सर्वोत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सुरु भएको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button