तपाईँ सुन्दै हुनुहुन्छः

एउटा वडामा ४२ जनाको स्वास्थ्य परिक्षण गर्दा ९ जना क्यान्सर पोजेटिभ

इलाम । नगरपालिकाले सुरु गरेको एकीकृत घुम्ती शिविरबाट नौ जना महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ । 

४२ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गर्दा नौ जनामा क्यान्सर पोजेटिभ देखिएको इलाम नगरपालिकाका स्वास्थ्य प्रमुख उपेन्द्र खनालले जानकारी दिनुभयो ।

 वडाका नागरिकहरूलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले वडा –४ बाट शिविर सुरु गरेको हो । नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत सुरु गरिएको शिविरमा नागरिकको निःशुल्क स्वास्थ्य जाँच र औषधी वितरण, कृषि सेवा अन्तर्गत माटोको नमुना सङ्कलन, मकैमा लाग्ने फौजी किरा नियन्त्रणका लागि जैविक औषधी वितरण, अन्य बालीहरूसम्बन्धी परामर्श, पशु स्वास्थ्य सेवा परीक्षण, सुरक्षित वैदेशिक रोजगार सम्बन्धी परामर्शलगायतका सेवा रहेको छ।

शिविरमा १२ वर्ष मुनिका बालबालिकाको मुटुको जाँच, ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो । अपाङ्गता भएका नागरिकलाई निलो, पहेंलो र रातो रङ्गको कार्ड वितरण गरिएको थियो । 

शिविर २८ गते नगरपालिका –१० गोदकमा हुने र २९ गते नगरपालिका–११ सोयाकमा सञ्चालन गरिने बताइएको छ । यस शिविरमा करिब एक हजार नागरिकले सेवा लिएका थिए । 

शिविरमा १४० जनाको स्वास्थ्य परीक्षण, एकसय पशुपन्छीको स्वास्थ्य परीक्षण, ९७ जनाले कृषि सेवा, २४ वटा माटो परीक्षण, ९० जनाले आयुर्वेद सेवा, ७२ जनाले सुरक्षित वैदेशिकसम्बन्धी परामर्श सेवा, अपाङ्गता भएका तीन जना, तीन जना गर्भवती महिलाको भिडियो एक्सरे, बाली उपचारका लागि जैविक विषादी वितरण ७२ जनालाई, ४० वटा पशुको गोबर परीक्षण गरिएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button