तपाईँ सुन्दै हुनुहुन्छः

सबैले अपनत्व लिन सक्ने र प्रतिफल दिने गरी नीति तथा कार्यक्रम लागू हुनुपर्नेमा सांसदहरूको जोड 

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले सबैले अपनत्व लिन सक्ने र प्रतिफल दिने गरी नीति तथा कार्यक्रम लागू हुनुपर्नेमा जोड दिनुभएको छ । 

आगामी आर्थिक वर्ष २०८२/०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरुले देशमा रोजगारी सिर्जना गर्ने, सुशासन कायम गर्ने, जनतामा आत्मविश्वास बढाउने, विकास निर्माणका कामलाई प्रभावकारी बनाउने गरी कार्यक्रम कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसका सांसद नारायण खड्काले नीति तथा कार्यक्रममा अहिले देखिएका रुपमा देखिएका समग्र समस्या समाधान गर्ने र विकासलाई अगाडी लैजाने समष्टिगत र स्पष्ट खाका र योजना आउन नसकेको बताउनुभयो । 

उहाँले जनतामा देखिएका असन्तोष र निराशा घटाउने, जनताका माग सम्बोधन गर्ने, युवामा रोजगारीको सिर्जना गरी आयआर्जन बढाउने, साधन र स्रोतको अभावलाई पूर्तीगर्ने, आर्थिक वृद्धिदर बढाउने दिशामा बजेटले ध्यान दिन सक्नुपर्ने बताउनुभयो । 

नेकपा एमालेका मुख्य सचेतक महेश वर्तौलाले मुलुकको विद्यमान आर्थिक र सामाजिक परिवेशको वास्तविक सीमा र धरातलमा टेकेर यथार्थपरक, वस्तुनिष्ठ र कार्यान्वयनयोग्य रुपमा नीति तथा कार्यक्रम आएको बताउनुभयो ।

उहाँले यसले विद्यमान चुनौती सामना गर्दै आगामी दिनमा मूलकमा नयाँ ढंगले दिशा निर्देश गर्ने र नीतिगत स्थिरता कायम गर्ने दिशामा नीति तथा कार्यक्रम कोशेढुङ्गा सावित हुने विश्वास गर्न सकिने खालको नीति तथा कार्यक्रम आएको बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले नीति तथा कार्यक्रममा कुनै पनि नवीनता नदेखिएको र नवनितासहित नआएको नीति तथा कार्यक्रमले आजको पुस्ताको प्रतिनिधित्व गर्न नसक्ने बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक सिंहले देश र जनतालाई लाभ दिने खालका कार्यक्रम आउनु पर्नेमा नीति तथा कार्यक्रममा गणतन्त्रको रक्षाका लागि ठूलो रकम खर्च गर्नेगरी आएकोभन्दै त्यसको आलोचना गर्नुभयो ।

नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुवरले आम नागरिकमा रहेको निराशा चिर्ने गरी बजेट आउन नसकेको, अर्थतन्त्रको सूचक सुधार गर्ने, मंहगी र भ्रष्टाचार नियन्त्रण गर्ने, नागरिकमा सुशासन प्रत्याभूति दिने दिशामा बजेट आउन नसकेको बताउनुभयो । 

सांसदहरु प्रभु शाह, रामहरि खतिवडाले सांसदहरुले नीति तथा कार्यक्रममा रहेका कमीकमजोरी सच्याएर पूर्णरूपमा कार्यान्वयनका लैजाइनु पर्नेमा जोड दिनुुभया ।

सांसदहरुले सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा लैजान चुनौतीपूर्ण रहेको भन्दै कार्यान्वयन गर्न उचित बजेटको व्यवस्था गर्नुपर्ने, सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अगाडी बढाउने कुरामा सबैले ध्यान दिनुपर्नेमा जोड समेत दिनुभयो । 

बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाउनु भएका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रम जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button