तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु 

काठमाडौँ । प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रवार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भनी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव पेस गर्नुभयो । 

छलफलमा भाग लिँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको नीति तथा कार्यक्रम मुलुकका यथार्थ अवस्थालाई समेटेर आउन नसकेको बताउनुभयो ।

अध्यक्ष दाहालले नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै भएको आरोप लगाउँदै नीति तथा कार्यक्रमले जनता र राष्ट्रका आवश्यकता सम्बोधन गर्न असमर्थ देखिएको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले कृषि, जलस्रोत, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, सङ्घीयता र सामाजिक न्याय जस्ता राष्ट्रिय प्राथमिकता भएका विषयलाई पृष्ठपोषण गर्न असफल भएको टिप्पणी गर्नुभयो । 

अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रममा व्यापक पुनःविचारको आवश्यकता औँल्याउँदै जनमुखी, व्यावहारिक र उत्पादनमुखी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । 

नीति तथा कार्यक्रमका विभिन्न बुदाँहरुमा ३७ वटा संशोधनका सूचना परेको सभामुख देवराज घिमिरेले जानकारी गराउनुभयो । 

छलफलमा संशोधनकर्ता सांसदहरु सांसदहरु सांसद जनार्दन शर्मा, वर्षमान पुन, सुदन किराती, शक्तिबहादुर बस्नेत, डा. अमरेशकुमार सिंह, शक्तिबहादुर बस्नेत, रोशन कार्की, अमनलाल मोदी, सांसद माधव सापकोटा, पूर्णबहादुर घर्ती, प्रेम सुवाल, रणेन्द्र बराइली, हितराज पाण्डे लगायतका सांसदहरुले नीति तथा कार्यक्रमले संविधानको मुल मर्म समात्न नसकेको बताउनुभयो । 

सांसदहरुले पूँजीगत खर्च बढाउने, कार्यान्वयन हुने, देशलाई आर्थिक रुपमा समृद्ध बनाउने, आम जनताका समस्या हल गर्ने गरी कृषि, सिँचाइ, विद्युत् लगायतका क्षेत्रको विकासका लागि प्रभावकारी योजना आउनुपर्नेमा जोड दिनुभयो । 

प्रतिनिधि सभामा आर्थिक वर्ष २०८२/८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button