बिर्तामोडका कृषकलाई नगरपालिकाद्वारा सात सय बाख्रा वितरण
झापा । झापाको बिर्तामोड नगरपालिकाले स्थानीय कृषकको आर्थिक जीवनस्तर उकास्ने उद्देश्यले यस वर्ष उन्नत जातको बाख्राका सात सय वटा पाठा कृषकहरूलाई वितरण गरेको छ ।

नगरका १० वटा वडाका पशुपालक किसानमध्ये गोला प्रथाबाट छनोट गरेर १६ वटा कृषक समूहका २४० जना कृषकलाई ७२० वटा बाख्रा वितरण गरिएको नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाकी अधिकृत सावित्रा दाहालले जानकारी दिनुभयो । अधिकृत दाहालले कृषकलाई दिइएको बाख्रा र बङ्गुरको बीमा पनि गरिएको बताउनुभयो ।
गोला प्रथाबाट छनोटमा परेका समूहमा आबद्ध हरेक कृषकले तीन वटाका दरले उन्नत जातको बाख्राको पाठा पाउने गरेका छन् । एउटा समूहमा एउटा बीऊ बोका समेत दिइने गरिएको छ ।
नगरपालिकाले माछा, मासु, दूध र तरकारीमा नगरलाई आत्मनिर्भर बनाउन ठूलो लगानी गर्दै आएको नगर प्रमुख प्रसाईँले बताउनुभयो । नगरपालिकाले आयातित तरकारीलाई निरुत्साहित र स्थानीय उत्पादनलाई प्रोत्साहित गर्न ‘पारिको होइन बारीको’ भन्ने कार्यक्रमअन्तर्गत बजार क्षेत्रमा किसानका उत्पादन बिक्री गर्ने पसल समेत सञ्चालन गर्दै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्