तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिता क्षेत्रको विकासमा मन्त्रालय प्रतिबद्ध : सचिव अर्याल

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका आर्यालले पत्रकारिता क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अनलाइन मिडिया युट्युब तथा पत्रकारिता क्षेत्रको समसामयिक सवाल सम्बन्धमा मन्त्रालयले विराटनगरमा आज आयोजना गरेको सञ्चारकर्मीसँगको अभिमुखीकरण तथा छलफल कार्यक्रममा सचिव  अर्यालले ऐन कानुन नियमलाई परिमार्जन गर्दै पत्रकारिता क्षेत्रको समस्या समाधान गर्नेतर्फ मन्त्रालय लागेको बताउनुभयो । 

सामाजिक सञ्जालमा आउने कतिपय फेक भिडियो तथा भ्रामक समाचारले समाजमा गम्भीर असर परिरहेको र यसले जोखिम समेत बढाउने भएकोले यस्तो समाचार सही हो, होइन त्यस विषयमा नियमन तथा अनुगमन आवश्यक रहेको उहाँले बताउनुभयो । 

प्रविधिको विकाससँगै आम सञ्चार माध्यमलाई सहज बनाएको चर्चा गर्दै प्रविधिको सही उपयोग गर्दै सत्य तथ्य र विश्वसनीय समाचार सम्प्रेषण गर्न समेत उहाँले सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । 

उहाँले सरकारी सञ्चार माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजन तथा गोरखापत्रको स्थापनासँगै आम नेपालीले सहज रुपमा सूचना पाउन थालेको भन्नुहुँदै पछिल्लो समयमा आएर रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकै ठाउँमा मर्ज गरेर सार्वजनिक प्रसारण सेवाको रुपमा विकास गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मोरङ प्रमुख अजम्बर राई, मोरङको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष भरत खडका, नेपाल पत्रकार महासङ्घ मोरङ अध्यक्ष सुशिला पाठकलगायतले पत्रकारिता क्षेत्रको विकासमा जोड दिनुभएको थियो । 

कार्यक्रममा प्रेस काउन्सिलका सदस्य विजयराज अधिकार, मन्त्रालयका सूचना अधिकारी ममता बास्कोटाले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

यसैगरी सचिव अर्यालले आजै विराटनगर–४ खार्जीमा रहेको तारिणिप्रसाद कोइराला स्मृति संचारग्राम रेडियो नेपालको समेत अनुगमन गर्नुभएको छ ।

सो अवसरमा सचिव अर्यालले संचारग्रामबाट प्रसारण भइरहेको कार्यक्रम तथा संचारग्रामको गतिविधिको बारेमा जानकारी लिनुभएको थियो । 

सो अवसरमा संचारग्राम प्रमुख सूर्यनारायण कर्ण तथा कार्यक्रम महाशाखा प्रमुख नयराज नेपालले संचारग्रामबाट भइरहेको गतिविधि तथा कार्यक्रमका विषयमा सचिव अर्याललाई जानकारी गराउनुभएको थियो । सो अवसरमा उहाँले कर्मचारीहरूसँग विभिन्न विषयमा छलफल समेत गर्नुभएको थियो ।

यसैगरी सचिव अर्यालले विराटनगरस्थित नेपाल टेलिकम कोशी प्रदेश कार्यालयको पनि अनुगमन गर्दै कार्यालयको सेवा प्रवाहको विषयमा जानकारी लिनुभएको थियो ।    

प्रतिक्रिया राख्नुहोस्

Back to top button